काठमाडौँ । विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराइने भएको छ ।

विद्यालय शिक्षाको समग्र शिक्षाको सुधारका लागि ३१ बुँदे प्राथमिकता सार्वजनिक गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताएका हुन् ।

सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप प्रदान गरिने विषयलाई मन्त्री पौडेलले पहिलो प्राथमिकता दिएका छन्। तर, कति समयभित्रमा खोप उपलब्ध गराइसक्ने भन्ने विषयमा भने उनले स्पष्ट पारेका छैन ।

संघीय शिक्षा ऐनलाई सकेसम्म छिटो जारी गर्ने, शिक्षक दरबन्दी मिलान तथा स्थायी शिक्षक पदपूर्तिको लागि प्रक्रिया आरम्भ गरिने, हरेक स्थानीय तहमा न्युनतम एउटा प्राविधिक विद्यालय स्थापना गरिने विषय आफ्नो प्राथमिकतामा रहेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले बताएका छन् ।