काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ ।

केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार मंगलबार साँझसम्म ५६ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ ।

सभापति देउवाको महाधिवेशन केन्द्रित गरी गठन गरिएको सचिवालयले जानकारी दिएअनुसार प्रारम्भिक नतिजामा देउवा पक्षका महाधिवेशन प्रतिनिधि बढी निर्वाचित भएका छन् ।

कांग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति देउवा पक्ष बलियो देखिएको जनाइएको छ। प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि आफ्नो पक्षको बढी निर्वाचित भएपछि सभापति देउवा हौसिएका छन् ।

देउवा सचिवालयले जानकारी दिएअनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा देउवा निकट महाधिवेशन प्रतिनिधि १२ जना निर्वाचित भएका छन् भने ललितपुर जिल्लाको निर्वाचन क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमध्ये ७० प्रतिशत देउवा पक्षका छन् ।