काठमाडौं । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको भक्ति भावमा साथ पूजा तथा आराधना गरिन्छ । चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ ।
नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई ध्यान गरिन्छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पक्वान्न, एवं रातो रङका पुस्पहरू प्रिय छन् । चन्द्रघण्टालाई विशेषगरी दूधको परिकार चडाउनु पर्छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ ।
शास्त्रमा वर्णन गरिएअनुसार मस्तकमा घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । उनको शारीरिक वर्ण स्वर्णको जस्तै छ । दश बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गर्नुभएको छ । वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ हो ।
देवी चन्द्रघण्टाको कृपाले साधकलाई अलौकिक शक्ति प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । देवीको यो स्वरूप परम शान्ति प्रदायक साथै कल्याणकारी छ । यिनको घण्टीको भयानक ध्वनिले अत्याचारी, दानव, दैत्य तथा राक्षसहरू डराउँछन् । चन्द्रघण्टाको आराधनाले साधकमा वीरता, निर्भयता, सौम्यता तथा विनम्रताको विकास हुने शास्त्रमा वर्णन गरिएको छ । त्यसैले मन, वचन, कर्मले विधिविधानपूर्वक शुद्ध भई चन्द्रघण्टा देवीको आराधना गर्नुपर्छ ।
चन्द्रघण्टा देवीको उपासना गर्दा निम्न मन्त्रको चच्चारण गर्नुपर्छ ।
यादेवीसर्वभूतेषुमाँचन्द्रघण्टारूपेणसंस्थिता ।
नमस्तस्यैनमस्तस्यैनमस्तस्यै नमोनमः ।।
ज्यो.दुर्गा भण्डारी
Discussion about this post