जनकपुर : प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले महोत्तरीको बर्दिबासमा भएको बालिका हत्या घटनाको विरोध भएको प्रदर्शनमा प्रहरीले संयमता गुमाएको कारणले थप क्षति भएको बताउनुु भएको छ ।
उहाँले बालिका हत्याको घटना निक्कै निन्दनीय एवं पीडादायी भएको र पीडित पक्षले न्याय पाउनुपर्ने बताउँदैे बालिकाको हत्याको विरोधमा भएको शान्तिपूर्ण प्रदर्शन तथा भिडलाई नियन्त्रणमा लिनका लागि अन्य प्रक्रिया अपनाउने सम्भावना हुँदाहुँदै गोली चलाएकोमा प्रहरीले संयमता गुमाएको बताउनु भयो ।
आन्दोलनकारीले पनि संयमता गुमाएर घरमा आगजनी गर्नु उचित नभएको बताउदै यस विषयमा महोत्तरीका प्रमुख जिल्ला अधिकारीसँग जवाफ मागिएको बताउनुभयो ।
प्रदेश सरकारले महोत्तरीको बर्दिवासमा भएको दुःखद घटनाका बारे प्रत्यक्ष रुपमा अनुगमन गरिरहेको बताउँदै घटनाको सम्बन्धमा प्रदेश सरकार गम्भीर भएको बताउनु भयो ।
उता महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले गोली उछिटिएर लागेको प्रतिक्रिया दिनु भएको छ ।
Discussion about this post