जनकपुरधाम । A One Engineering Consultancy का सञ्चालक इन्जिनियर अभिमन्यू कुमार गिरीमाथि मूल्याङ्कन (Valuation) बढाइदिने आश्वासन दिएर ५० हजार रुपैयाँ लिएको तर तीन महिनासम्म न काम गरिदिएको, न रकम फिर्ता गरेको आरोप लागेको छ।

पीडित पुनम कुमारीका अनुसार सिद्धार्थ बैंकबाट ऋण लिनका लागि आवश्यक मूल्याङ्कन बढाइदिने भन्दै इन्जिनियर गिरीले आफूबाट ५० हजार रुपैयाँ लिएका थिए। तर, रकम लिएको तीन महिना बितिसक्दा पनि न त भनिएको काम सम्पन्न भएको छ, न त लिएको रकम फिर्ता गरिएको छ।

पीडित पक्षका अनुसार रकम फिर्ता माग्दा इन्जिनियर गिरीले पटक–पटक ‘आजभोलि फिर्ता गर्छु’ भन्दै आश्वासन दिने गरेका थिए। तर, लामो समय बितिसक्दा पनि रकम फिर्ता नभएपछि आफूहरू अन्योलमा परेको पीडित पक्षको गुनासो छ।

यस घटनासँगै बैंकबाट ऋण उपलब्ध गराइदिने र मूल्याङ्कन बढाइदिने नाममा सर्वसाधारणलाई प्रलोभनमा पारिएको हुन सक्ने विषयमा समेत स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ। स्थानीयका अनुसार आफू इन्जिनियर भएकाले बैंकबाट ऋण दिलाउने तथा मूल्याङ्कनसम्बन्धी काम आफ्नो पहुँचमा रहेको भन्दै आश्वासन दिने गरेको चर्चा छ। यद्यपि, यस विषयमा स्वतन्त्र पुष्टि हुन बाँकी छ।

पीडित पक्षले अब थप आश्वासनमा नपरी आफ्नो रकम फिर्ता र न्यायका लागि प्रहरीसमक्ष जाने तयारी गरेको जनाएको छ। घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन तथा आरोप पुष्टि भएमा कानुनबमोजिम कारबाही गर्न पीडित पक्षले माग गरेको छ।

यस विषयमा सम्बन्धित इन्जिनियर अभिमन्यू कुमार गिरीसँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गर्दा फोन उठेन। पीडित पक्षको दाबीअनुसार सम्पर्कका लागि प्रयोग गरिएको नम्बर ब्लक गरिएको छ। यस विषयमा इन्जिनियर गिरीको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।