जनकपुरधाम । मुलुकमा संघीयता आएपनि राज्य पक्षबाट विभेद जारी नै रहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आरोप लगाएका छन ।

शनिवार राष्ट्रिय इन्जिनियर संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने मधेश जनविद्रोह र विभिन्न आन्दोलन पश्चात मुलुकमा संघीयता आएपनि राज्य पक्षबाट विभेद कायमै रहेको कारण आम जनताले संघीयताको अनुभुति गर्न सकेको छैन ।

उनले पहिचान, जातीयता, लिङ्गको आधारमा वर्षौदेखि विभेद अन्त्य गर्न मधेश जनविद्रोह र विभिन्न आन्दोलनको क्रममा राजनीतिक सहमति अनुसार मुलुकमा संघिय व्यवस्था ल्याइयो । तर राज्य पक्षले पटक पटकको सहमति कार्यान्वयन नगरेको कारण जारी विभेदले संघीयता धरापमा परेको भने । विभेद अन्त्यका लागि नेपाली जनताले आन्दोलन गरेर संघिय संरचना प्राप्त गरे तर शासन व्यवस्था विभेद गर्नेहरुकै हातमा रहेकाले त्यसको प्रतिफल प्राप्त गर्न नसकेको भन्दै उनले हामी अहिलेपनि संविधानको विरोधमै रहेको बताए ।

अर्को प्रसंगको चर्चा गर्दै अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय विवादका कारण संविधान विपरित अलोकतान्त्रिक र गैरसंवैधानिक तरिकाले संसद विघटन गराएको आरोप लगाउंदै उनले संसद पुनस्थापना नभएसम्म जसपाको संघर्ष जारी रहने चेतावनी दिए ।

कार्यक्रममा जसपाका बरिष्ठ राजेन्द्र महतोले जनताका लागि देशमा उत्कृष्ट भनी पटक पटक संविधान ल्याइयो तर शासक वर्गको बेइमानीका कारण जनता अधिकारबाट आजसम्म वंचित नै छन ।
उनले ७० वर्षमा ७÷७ वटा संविधान ल्आयो तर ती संविधान जनताका लागि होइन शासक वर्गको संरक्षणका लागि मात्र ल्याइयो । पहिला राजा महाराजाले आफू अनुकुल संविधान ल्याउने गथ्र्यो तर अहिले केही मुट्ठी भरका नेता आफ्नो शासन व्यवस्था कायम राख्न र आवश्यक परे त्यसैलाई कुचल्ने गरेको छ ।

नेता महतोले देशमा जति संविधान र व्यवस्था परिवर्तन भएपनि विचार र व्यवहारमा परिवर्तन नभएसम्म यहाँका जनता सुखी समृद्ध हुन नसक्ने भन्दै शासक वर्गबाट हुँदै आएको प्रतिगमन कार्य अन्त्य नभएसम्म मुलुकमा कुनै परिवर्तन आउन नसक्ने दाबी गरे ।

अर्का नेता शरतसिंह भण्डारीले मुलुक संविधान र व्यवस्था परिवर्तन भन्दा राज्य पक्षको मनस्थितिमा परिवर्तन हुन आवश्यक छ । उनले फास्ट ट्र्याकमा ल्याइएको संविधानको परिणाम अहिले सबै नेपाली जनतालाई भोग्नु परिरहेको सर्वविदितै रहेको ।

सो कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल लगायत जसपाका नेताहरुले आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।