झापा, २९ फागुन (मधेश टप):- झापाको मध्यभागमा रहेको शिवसताक्षी नगरपालिकास्थित प्रदेश नं. १ कै पहिलो जीप फ्लाइङ र जीप साइक्लिङ सुविधासहितको वाटरपार्क रिसोर्ट सञ्चालनमा आएको छ । शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा दुई बिघा पाँच कठ्ठा निजी जग्गामा स्थानीयवासी राजकुमार सङ्ग्रौलाले रु ४२ करोडको लगानीमा वाटर किङ्डम पार्क एन्ड रिसोर्ट प्रालि स्थापना गर्नुभएको हो ।

शिवसताक्षी धाम, चिल्लागढ, दोमुखाजस्ता प्रख्यात पर्यटकीयस्थल नजिक स्थापित यस रिसोर्टमा स्थापना गरिएको नयाँ र साहसिक मानिएको जीप फ्लाइङ र साइक्लिङले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने विश्वास लिएको सञ्चालक सङ्ग्रौलाले बताउनुभयो ।

पानीमा खेलेर रमाउन सकिने आठ किसिमका खेल, ४५ मिटर लामो कृत्रिम सुरुङ, समुन्द्री छालको जस्तो वेभ पुल, स्विमिङ पुल, चिल्ड्रेन पुल, सावर डान्स, नाइट क्लब, सोनाबाथ, फिटनेस सेन्टरलगायत अनेकौँ मनोरञ्जनात्मक सुविधाले यो रिसोर्ट झापाको नमूना पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको रिसोर्ट सञ्चालक समितिकी अध्यक्ष मेनुकादेवी सिटौलाले बताउनुभयो । वाटरपार्क डुल्न भारतको सिलिगुढी जान नपर्ने अवस्था सिर्जना गर्न र नाफासँगै सेवाको भावनाले रिसोर्ट सञ्चालन गरिएको उहाँको भनाइ छ । कोरोना महामारी नियन्त्रण र खोप लगाउने क्रम बढेसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम घटेको हुँदा अब पर्यटकीय चहलपहल बढ्न थालेको उहाँले बताउनुभयो । रिसोर्टमा मनोरञ्जनका लागि खेल तथा सुविधासँगै बस्न र खानका लागि अलगअलग ननभेज र भेज रेस्टुरेन्ट सञ्चालन गरिएको छ । परिवार र साथीसँग घुमफिरका लागि वाटर किङ्डम रिसोर्ट उपयुक्त स्थान भएको उहाँको दाबी छ ।

मुलुकमा पर्यटन क्षेत्रको पुनरुत्थान र आकर्षण बढाउन यस्ता रिसोर्ट खुल्नुपर्ने आवश्यकता रहेको शिवसताक्षी नगरपालिका– ८ का अध्यक्ष केहरसिंह बस्नेतले बताउनुभयो । आफ्नो क्षेत्रमा खुलेको रिसोर्टलाई नगरकै गौरवको परियोजना ठान्दै उहाँले त्यसको सफलता र संरक्षणका लागि स्थानीय सरकार सधँै सहयोगी रहने विश्वास व्यक्त गर्नुभयो । रिसोर्ट सञ्चालक समितिका सदस्य गणेश घिमिरेले वार्षिक एक लाखलाई पौडी खेल्नका रिसोर्टभित्र प्रवेश गराउने र निश्चित शुल्क तोकेर दुई हजारलाई यस वर्ष स्वीमिङ पुलको ग्राहक बनाउने लक्ष्य लिएको जानकारी दिनुभयो ।