काठमाडौं बैशाख ३१ (मधेश टप): जनता समाजवादी पार्टीको संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयन गरिएको छ। पूर्ण बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए।

२० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेका हौँ,’ उनले भने, ‘भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं।’ महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ।

भूमिको रक्षाका लागि सबै एक ठाउँमा छौँः राजेन्द्र महतो

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन सक्ने संकेत पनि गरिसकेका छन्। दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठन हुन नसकेपछि संसदमा रहेको सबैभन्दा ठुलो दलको रूपमा एमाले अध्यक्ष ओली पुन प्रधानमन्त्री बनेका छन्। उनले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

वैशाख २७ गतेको मतदानमा तटस्थ बसेको ठाकुर पक्षले अब भने विश्वासको मत दिन सक्ने बताएका छन्। जसपाको यो विवादले पार्टी फुटको संघारमा पुगेको छ। यसले पार्टीका हरेक गतिविधिमा प्रभाव पार्ने देखिएको छ। जसपाका दुई पक्षबीच अहिले पार्टीमा बहुमतको अभ्यास भइरहेको छ।