काठमाडौं। सरकारले संसदको बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारीस गर्ने निणर्य गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रीपरिषदको बैठकले जेठ ९ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ।

यस्तै मन्त्रिपरिषद् बैठकमा प्रधामन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को ५ अनुसार प्रक्रिया अघि बढाउन आफूले मार्गप्रशस्त गर्ने बताएका छन्। धारा ७६ को ३ अनुसार नियुक्त भएका प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिन नसकेमा स्वत पदमुक्त हुने व्यवस्था छ।

उनले विश्वासको मत नलिइ राजीनामा दिने र सदनको सदस्य मध्ये कसैले बहुमतको आधार प्रस्तुत गर्दै प्रधानमन्त्री नियुक्तिमा दाबी गर्न सक्ने ७६ को ५ को प्रावधानमा उनले मार्गप्रशस्त गर्ने निर्णय गरेका हुन्।

‘विश्वासको मत लिनुभन्दा राजीनामा दिनु उत्तम विकल्प देखेको छु। सदनमा रहेका कतिपयलाई बहुमत पुर्‍याउन सक्छु भन्ने पनि होला ७६ ५ को विकल्पका लागि मार्गप्रशस्त गर्ने निर्णयमा पुगेको छु,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने।