काठमाडौं। विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउन माग गरेको छ। पार्टी प्रवक्ता शरदराज पाठकले शुक्रवार विज्ञप्ति जारी गरेर संविधान र नागरिकको जीवन रक्षाका लागि राष्ट्रपतिमाथि महाअभियोग लगाउन र प्रधानमन्त्री केपी ओलीको विकल्प दिन संसदमा रहेका सबै विपक्षी दललाई आग्रह गरेका छन्।

विकेशील साझा पार्टीले राष्ट्रपति सरकारको रबर स्ट्याम्परह बनेको र असंवैधानिक कदम चालेको आरोप लगाएको छ। ‘संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने र देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछ,’ पार्टीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मा समय दिइनु ओलीलाई नै फेरि प्रधानमन्त्री बनाएर प्रधानमन्त्री बनाएर संसद विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने षडयन्त्र भएको आरोस सो पार्टीले लगाएको छ। ‘संविधानत: प्रधानमन्त्रीले पदमा बहाल रहँदै अर्को प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गर्ने र राष्ट्रपतिले त्यसलाई सदर गर्नेजस्तो अनौठो र अत्यन्त अस्वाभाविक दृश्य विश्व राजनीतिमा सायदै कतै देखिएला,’ विज्ञप्तिमा उल्लेख छ।

कोरोना महामारीको तेस्रो लहरले झनै भयावह स्थिति ल्याउने चेतावनी विज्ञहरूले दिइरहँदा मुलुकलाई चुनावतर्फ धकेल्न खोज्नु अक्षम्य अपराध रहेको पनि पार्टीले जनाएको छ।