काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षलाई मान्यता दिएको पाइएको छ। जसपा दर्ता हुँदा बखतको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिएको पाइएको हो।

५१ सदस्यीय कार्यकारिणी समितिमा पूर्वराजपाका २६ र पूर्वसमाजवादी पार्टीका २५ जना छन्। तीमध्ये पछिल्लो समय ३० जना यादवपक्षमा लागेका छन्। तिनै ३० जनाको आधारमा यादव पक्षले आयोगमा पार्टी आधिकारिकताको दाबी गर्दै आएको छ।

लुम्बिनी प्रदेशसभा सचिवालयलाई आयोगले दल दर्ता हुँदा बखतको अभिलेखअनुसारको कार्यकारिणी समितिको विवरण पठाएर यादव पक्षलाई मान्यता दिएको पाइएको हो।

लुम्बिनी प्रदेशसभा सचिवालयले जसपा केन्द्रीय कार्यकारिणी समितिको विवरण उपलब्ध गराइदिन असार १४ गते आयोगलाई पत्राचार गरेको थियो।

सचिवालयको अनुरोधअनुसार आयोगले पठाएको विवरणमा ‘प्रस्तुत विषयमा तहाँ सचिवालयको च.नं.७२२ मिति २०७८/३/१४ को विवरण उपलब्ध गराइदिने भन्ने विषयको पत्रका सम्बन्धमा आयोगको अभिलेखअनुसार दल दर्ता नं. १५९ मा दर्ता कायम रहेको जनता समाजवादी पार्टी नेपालका देहाय बमोजिमका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू रहेको ब्यहोरा जानकारीको लागि अनुरोध छ,’ भनिएको छ।
आयोगले पठाएको उक्त विवरणमा महन्थ पक्षले पुनर्गठन गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको नाम समावेश गरेको छैन।

आयोमेल बाट