काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य बिष्णु जंग बस्नेतसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै बिष्णु जंग बस्नेतसहित १८ जना केन्द्रिय सदस्य र २ जिल्ला सदस्यहरुले जसपाको उपेन्द्र यादव समूह परित्याग गर्ने घोषणा गरेका हुन् ।

उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालले पार्टी एकता गर्दा गरेको प्रतिवद्धतालाई लत्याउदै पार्टीलाई केही व्यक्तिको प्राइभेट लिमिटेडको रुपमा चलाएको आरोप समेत उनीहरुले लगाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै जसपाका केन्द्रिय सदस्य समेत रहेका भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णु जंग बस्नेतले आजदेखि वाध्य भएर उपेन्द्र यादवको समूह परित्याग गरेको घोषणा गरे ।

उनले भने, ‘देश २०७२ सालको भुकम्प र कोरोना महामारीमा जनताहरु प्रताडित हुँदाखेरी यो पार्टीले जनतालाई केही दिन सकेन ।’ उनले १८ महिना उपेन्द्र यादव उप–प्रधान तथा स्वास्थ्यमन्त्री बनेर आफूले मात्र कमाएर जनतालाई केही नदिएको आरोप लगाए ।

बस्नेतले संघिय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकता भएपछि पनि अध्यक्ष यादवको रबैया बदलिएको र पार्टीको घोषित रुपमा लिएको पार्टी नीतिलाई उल्लघंन गर्न थालेको आरोप लगाए । बस्नेतले भने, ‘फोरमले लिएको ७ क्लस्टरलाई ३ क्लस्टरमा वकालत गर्न थालियो ।’ २०६५ साल देखि आफुले घरबेटीहरुको अन्याय विरुद्ध बोल्दै आएपनि राज्यले आफ्नो कुरा नसुनेको बताए ।