सप्तरी । प्रदेश २ का पूर्वआन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले गाडीलगायतका सरकारी सुविधा फिर्ता दिएका छैनन् ।

प्रदेश २ का पूर्वआन्तरिक मामिला तथा कानून राज्यमन्त्री कुशवाहाले पदबाट राजीनामा दिएको एक महिना बितिसक्दा समेत गाडीलगायतका सरकारी सुविधा फिर्ता नगरेको जनाइएको हो ।

सत्तारुढ जनता समाजवादी पार्टी नेपालबाट मन्त्री बनेका कुशवाहाले गाडी सहित विभिन्न सामग्रीहरु अहिलेसम्म पनि फिर्ता गरेका छैनन् । राज्यमन्त्रीको हैसियतमा प्राप्त सुविधामध्ये पूर्व राज्यमन्त्री कुशवाहाले गाडी फिर्ता नगरेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।

त्यस्तै आफ्नो निवासमा सुरक्षाका लागि लगाइएको ५ थान सिसिटिभी क्यामेरा समेत पूर्वराज्यमन्त्री कुशवाहाले फिर्ता गरेका छैनन् । मन्त्रालयबाट पटक पटक ताकेता गर्दा समेत पूर्व राज्यमन्त्री कुशवाहाले ती सामग्रीहरु फिर्ता गर्न अटेर गर्दै आईरहेको जनाइएको छ ।