जनकपुरधाम : जनता समाजवादी पार्टी(जसपा)बाट छुट्टिएका महन्थ ठाकुर समुहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)कालागि बुधवार निर्वाचन आयोगमा सनाखत गरेसँगै नयाँ दलको मान्यता पाएकोछ ।

समाजवादीबाट छुट्टिएका ठाकुर र नेकपा एमालेबाट छुट्टिएका माधवकुमार नेपाललाई नयाँ दल दर्ता गर्न सहज बनाउन सरकारले अध्यादेश ल्याएको थियो ।सो अध्यादेश बमोजिम ठाकुरले दर्ता गराएको लोसपा पार्टीका लागि निर्वाचन आयोगले सनाखतको काम पुरा गराएकोछ ।अध्यादेश अनुसार संसदीय दल अथवा कार्यसमिति मध्ये कुनै एउटाको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने प्रावधान छ ।

सो अनुसार ठाकुर र नेपाल दुवै दलका नेताहरुले सनाखत गराएकाले दलको मान्यता पाएको छ । ठाकुरले अलग दल दर्ता गर्न निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्रका लागि आयोगले सनाखत गर्न नेताहरुलाई बोलाएको थियो । लोसपाका १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् ।

यससँगै ठाकुर नेतृत्वको पार्टीले दल दर्ताको प्रमाणपत्र पाउन योग्य भएकोछ । जसपाको संसदीय दलमा रहेका ३४ जना सांसद मध्ये १४ जना ठाकुरको पक्षमा सनाखत गरेका हुन् ।यो संख्या ३३ प्रतिशत भन्दा केहि बढिरहेको छ ।

त्यसैरि जसपाको तत्कालिन ५१ सदस्यीय कार्यकारिणी समितिको १७ जनालेपनि ठाकुरको पक्षमा सनाखत गरेका छन् ।गत साउन महिनामा पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगले गराएको सनाखतमा ठाकुरको पक्षमा १६ जनाले सनाखत गरेका थिए ।जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी कार्यकारिणी समितिको सदस्यको हैसियतमा ठाकुरको पक्षमा सनाखत गरेकाले संख्या १७ पुगेको छ ।

उनी साउन ११को सनाखतमा तटस्थ रहेका थिए ।त्यसपछि उपेन्द्र यादव नेतृत्वको जसपाको कार्यकारिणी समितिमा रहने प्रतिबद्धता जेलबाट जनाएपछि उनलाई सदस्य राखिएको थियो ।

नयाँ दलको मान्यता पाएको लोसपामा हाल ३३ जना कार्यकारिणी समितिको सदस्य रहेका छन् ।पार्टीको एकजना मात्र महन्थ ठाकुर अध्यक्ष रहेका छन् ।

लोसपाका लागि सनाखत गर्ने सांसद
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल कुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमल श्रीवास्तव, उमाशंकर अरगडिया, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारी देवी खंग खत्वे, कल्लुदेवी विश्वकर्मा र शेखर कुमार सिंह रहेका छन् ।

कार्यकारिणी समिति सदस्य
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल कुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, वृशेषचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ल, जितेन्द्र सोनार, उमाकान्त झा, अकवाल अहमद, केशव झा, सुनिल झा(रोहित), राजकुमार लेखी, दानबहादुर विश्वकर्मा, रेशमलाल चौधरी रहेका छन् ।