जनकपुरधाम। स्थानीय निकायका जनप्रतिनिधिहरुलाई राजनीतिक दल रोज्नका लागि दिइएको समय तीन दिन मात्र बाँकी रहँदा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरु अत्यधिक सक्रिय भएका छन् ।

दुबै पार्टीको केन्द्रबिन्दू मानिएको प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्ने जनप्रतिनिधिहरुको सङ्ख्या अत्यन्त कम देखिएपछि पार्टी अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु चार दिन अघि जनकपुरधाम आएका थिए । उनीहरु प्रदेश सभा सदस्य, पालिका अध्यक्ष, उपाध्यक्ष एवम् वडा अध्यक्षहरुलाई आफ्नो पक्षमा तान्न कसरतमा जुटिरहँदा जसपा अध्यक्ष उपेन्द्र यादव समेत विहीबार जनकपुरधाम आईपुगेका छन् ।

तात्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाटै चुनाव जितेका जनप्रतिनिधिहरुले समेत साथ छोड्न थालेपछि ठाकुर पक्षलाई आफ्नै पक्षलाई जोगाउन हम्मेहम्मे परेको छ । विभिन्न हथखण्डा अपनाउँदा पनि ठाकुर, महतो लगायतका नेताहरु प्रतिगमनको पक्षमा लागेको भन्दै रुष्ट हुँदै जसपाले अख्तियार गरेको नीति नै सही रहेको भन्दै समर्थन जनाएका छन् ।

जसपा नेपालमा कुल ५४ जना प्रदेश सभा सदस्य रहेकोमा हालसम्म १२ ले मात्र लोसपाको पक्षमा सनाखत गरेका छन् ।ती नेताहरु आफ्ना जनप्रतिनिधिहरुसँग पटक पटक कुरा गर्न खोज्दा कतिपयले मोबाइल स्वीच अफ गरेको तथा कतिपयले त मोबाइल फोन नै रिसिभ गर्न छाडेको राजपाबाट निर्वाचित एक प्रदेश सभा सदस्यले जनकारी दिए।

भदौ २२ गतेसम्म आफु गौन बस्न चाहेको बताउँदै उनले भने ‘पार्टीको स्तम्भको रुपमा रहेका नवलकिशोर साह, रामनरेश राय, मनिस कुमार सुमन, सुरेश कुमार मण्डल, बिक्की यादव, प्रमोद साह जस्ता प्रदेश सभा सदस्यहरुले ठाकुर, महतो जस्ता लोभी नेताहरुको साथ छोड्नु बाहेकको विकल्प पनि थिएन, मूल पार्टीबाट अलग भएर नयाँ पार्टी बनाउनेहरुको पार्टीको अहिले नामो निशान छैन ।’

प्रतिगमनकारी ओलीलाई समर्थन गर्नेहरुलाई साथ दिन नैतिकताले नमानेको तत्कालिन राजपाका प्रभावशाली नेता नवलकिशोर साहले बताए । आफु विद्यार्थी जीवनकालदेखि नै प्रजातन्त्रको पक्षमा लागेको बताउँदै उनले भने ‘राणा विरोधी आन्दोलनदेखि हालसम्म मधेशी, दलित, मुस्लिम, थारु, आदिवासी जनजाती एवम् शोषित उत्पीडित जनताको पक्षमा संघर्ष गर्दैआएको छु, ओली जस्ता प्रतिगमनकारी, संघीयता र लोकतन्त्र विरोधीहरुको साथ दिन आत्माले मानेन, उपेन्द्र यादव नेतृत्वको जसपा स्पष्ट सिद्धान्तले गर्दा हामी जसमा निर्माणमा जुटेका हौं ।’

उपेन्द्र यादव समेत जनकपुरधाममै व्यस्त लोसपाका अध्यक्ष महन्थ ठाकुर सहितका नेताहरु विभिन्न माध्यमबाट जसपाको विषयमा भ्रमित पार्दै जनप्रतिनिधि आफ्नो पक्षमा पार्न सक्रिय भएका थिए । जसपा अध्यक्ष उपेन्द्र यादव समेत विहीबार जनकपुर आएपछि लोसपाका नेताहरुलाई राजपाबाटै जितेका तीस प्रतिशत प्रतिनिधिहरु पनि जोगाउन धौ–धौ परेको छ । यद्यपी ती नेताहरुले भने कसरतलाई जारी नै राखेका छन् ।

यता जसपा अध्यक्ष यादवको जनकपुर आगमन भएयता तत्कालिन राजपाबाट चुनाव जितेका जनप्रतिनिधिहरु उनीसँगै भेंटघाटमा व्यस्त देखिएका छन् । जसपाको सैद्धान्तिक र वैचारिक सङ्घर्षबाट नै शोषित उत्पीडित जनताको मुक्ति हुने भएको तथ्य स्वीकार्दै जसपाकै सङ्घर्षमा साथ दिने जनप्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गरेको जनता समाजवादी पार्टी प्रदेश २ का नेता समेत रहेका आन्तरिक मामिला तथा योजन मन्त्री शैलेन्द्र प्रसाद  साहले जानकारी दिए ।

जालझेल र भ्रमको खेती धेरै दिनसम्म नटिक्ने बताउँदै उनले भने ‘आफ्नै भनिएका जनप्रतिनिधिहरुलाई जोगाउन नसक्नेहरुले जसपाको विषयमा भ्रम फिँजाईरहेका छन्, जनतालाई भ्रमजालको विषयमा जनतालाई थाहा छ ।’ तत्कालिन राजपाबाट जितेका अधिकांश ईमानदार, स्वाभिमानी एवम् क्रान्तिकारी साथीहरु हाम्रो सहयात्री बन्नुले जसपा थप मजबुत भई वैकल्पिक शक्तिको रुपमा उदाएको  साहले बताए ।

जसपाको संसदीय दलको बैठकप्रदेश सरकारको कामकार्वाहीलाई थप चुस्तदुरुस्त पार्न तथा जसपालाई नै थातथलोको रुपमा रोजेका जनप्रतिनिधिहरुको समुचित व्यवस्थापन सहितका विषयमा जसपा प्रदेश २ को संसदीय दलको बैठक बसेको छ । मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता लालबाबु राउतको अध्यक्षता तथा पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा वेलकम होटेलमा बैठक भईरहेको पार्टीका प्रदेश अध्यक्ष समेत रहेका मन्त्री साहले जानकारी दिए ।