उमेश कुमार साह 

राजबिराज, ३१ असोज
जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणु यादवले आफुले पाएको कार्यभारलाई ईमान्दारीतापूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

जनता समाजवादी पार्टी नेपाल , बोदे बर्साईन नगर समिति तथा नगर ब्यापार संघ बोदे बर्साईन द्वारा बोदे बर्साईन स्थित धर्मशालामा आइतबार आयोजित स्वागत, बधाई, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आएकी यादवले सप्तरीका अधुरो सडकहरूलाई एक महिनाभित्र पूर्णता दिने बताईन् । सडकको दुर्दशाका कारण सप्तरीबासीले सास्ती खेप्नुपरेको कुरा टुलुटुलु हेरिरहनु भन्दा अर्को विकल्प थिएन, मन्त्री यादवले भनिन्, आफुलाई बर्षौदेखिको सप्तरीबासीको समस्या सामाधान गर्ने महत्वपूर्ण अबसर मिलेको छ, मैले पाएको जिम्मेवारी र अधिकारलाई प्रयोग गरि राजबिराज सदरमुकाम जोड्ने सबै सडकको अबस्थामा एक महिना भित्र परिवर्तन देख्ने गरि काम गर्नेछु ।

मन्त्री यादवले कामको जिम्मेवारी लिएर समयमा काम नगर्ने ठेगेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी दिईन् । जनतासँग प्रत्यक्ष सरोकार राख्ने सडकको काम अलपत्र छोड्ने कसैलाई छुट छैन, मन्त्री यादवले भनिन्, सडक निर्माण नगरी अधुरो राख्ने निर्माण कम्पनी तथा ठेकेदारलाई कालोसूचीमा राखि कारबाही हुन्छ ।

जनता समाजवादी पार्टीले प्रतिगमन विरुद्धको हरेक आन्दोलनको अगुवाई गरेको चर्चा गर्दै मन्त्री यादवले महन्त ठाकुरलाई ईङ्गित गर्दै मन्त्री पदका लागि मरिहत्ते गर्ने केही ब्यक्तिका कारण संघीयता पहिचान र अधिकारको मुद्दा कमजोर पारेको उल्लेख गरे । जनता समाजवादी मन्त्री पदलाई भन्दा पहिचान, अधिकार र बिकास तथा सुशासनको लागि लड्ने पार्टी रहेको जिकिर गर्दै मन्त्री यादवले देश निर्माणका निम्ति पार्टीले बिश्वासका साथ दिएको जिम्मेवारीलाई ईमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री यादवले जनताहरुको ठूलो बलिदानीबाट प्राप्त अधिकारको संरक्षण तथा बाँकी अधिकार सुनिश्चितताका लागि अझै संघर्ष गर्नुपर्नेमा जोड दिईन् । संघीयता हटाउन ओली सरकारले साँसदमा प्रस्ताबना ल्याउन पटक–पटक प्रयास गर्दा जसपाले विफल पारेको उनले दाबी गरिन् । मन्त्री यादवले एमालेसहित केही संघीयता बिरोधी तत्वहरु संघीयता समाप्त पार्ने षड्यन्त्रमा अझै सक्रिय रहेकोले सो विरुद्ध एकताबद्ध हुन आग्रह गरिन् ।

जनता समाजवादी पार्टी नेपाल बोदे बर्साईन नगर अध्यक्ष अरुण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा बिशिस्ठ अतिथि भुपु कृषि मन्त्री तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादव , जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य अनिरुद्ध प्रसाद सिंह यादव, केन्द्रिय सदस्य शैलेन्द्र मोहन झा, अशोक यादव, प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य अभिषेक यादवल, नगर ब्यापार संघ बोदे बर्साईनका सचिब अनिल प्रसाद सिंह , जसपा बोदे बर्साईन नगर अध्यक्ष अमरेन्द्र कुमार यादव गायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

यसैगरी जसपा मधेस प्रदेश समिति सचिव दिनेश कुमार यादव, प्रदेश समिति सदस्यहरु भिम बहादुर तामाङ, सकिल अलि, दिल कुमारी चौधरी, नेता बिकास तिवारी, जिल्ला अध्यक्ष हरेराम यादव, समाजवादी महिला संघ प्रदेश २ का उपाध्यक्ष गिता यादव, सप्तरी अध्यक्ष मिरा यादव, यूवा अध्यक्ष शिवराम यादव, बिद्यार्थी अध्यक्ष संजय यादव , बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादव लगायतकाले समेत शुभकामना मन्तव्य व्यक्त गरे ।

बोदे बर्साईन बाट अर्को कार्यक्रमको लागि बलान बिहुल गाउँपालिका गएको स्रोतले बताए ।