काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा वेस्ट इन्डिजले दिएको १५८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.२ ओभरमा दुई विकेट गुमाउँदै पुरा गरेको हो ।

अष्ट्रेलियाका ओपनर डेविड वार्नर र मिचेल मार्सले उत्कृष्ट अर्धशतकिय पारी खेले । वार्नरले ५६ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८९ रन जोडे भने मार्सले ३२ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५३ रन बनाए । अर्का ओपनर तथा कप्तान आरोन फिन्चले ९ रन बनाउँदा ग्लेन म्यासवेल नट आउट रहे ।

वेस्ट इन्डिजका लागि अकेल हुसैन र क्रिस गेलले एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान काइरोन पोलार्डले सर्वाधिक ४४ रनको योगदान गरे ।

इभिन लेविसले २९ तथा सिमरोन हिटमेयरले २७ रनको जोडे ।

अष्ट्रेलियाका जोश ह्याजलउडले सर्वाधिक चार विकेट हात पार्दा मिचेल स्टार्क, प्याट कमिङस तथा एडम जाम्पाले समान एक/एक विकेट लिए ।