काठमाडौं। टि–२० विश्वकपमा आफ्नो समूह चरणको अन्तिम खेलमा इङल्याण्डले दक्षिण अफ्रिकासँग १० विकेटले हारेको छ । हारेर पनि नेट रनरेटका आधारमा इङल्याण्ड समूहको शीर्षमा रहँदै सेमिफाइनल पुगेको छ । इङल्याण्ड र अस्ट्रेलियासँग बराबर ८ अंक भएर पनि दक्षिण अफ्रिका नेट रनरेटका आधारमा तेस्रो स्थानमा रहँदै बाहिरिएको छ ।

शारजाहमा भएको यो खेलमा इङल्याण्ड हारे पनि उसका ब्याटर लियाम लिभिङस्टोन चर्चामा छन् । लिभिङस्टोनले कागिसो रबाडाको तीन बलमा लगातार छक्का हानेका थिए । ती ३ छक्कामध्येको पहिलो छक्का यो विश्वकपकै सबैभन्दा लामो छक्का बनेको छ । उनको छक्काको लम्बाइ ११२ मिटर नापिएको छ । लिभिङस्टोरले २८ रनको सानो र तुफानी इनिङ खेलेका थिए ।

रोचक त के भने यो विश्वकपमा सबैभन्दा लामो छक्काको रेकर्ड केही घण्टाअघि हिजोकै पहिलो खेलमा बनेको थियो । अघिल्लो खेलमा पहिलो इनिङको २० औं ओभरको पाँचौं बलमा वेष्ट इण्डिजका आन्द्रे रसेलले यो विश्वकपको सबैभन्दा लामो छक्काको रेकर्ड बनाएका थिए । रसेलले मिचेल स्टार्कको बलमा हानेको त्यो छक्काको लम्बाइ १११ मिटर नापिएको थियो ।