सप्तरी । प्रदेश २ मा नेपाली कांग्रेसको प्रदेश अधिवेशन उद्घाटनसत्रमै सीमित बनेको छ ।

समयमै उद्घाटन सत्र सुरु भए पनि मतदाता नामावली अझैसम्म प्राप्त हुन नसकेपछि अधिवेशन नै स्थगित हुने सम्भावना बढेको छ।

प्रदेश अधिवेशन उद्घाटन भएको ४ दिन बितिसक्दा पनि सबै जिल्लाबाट मतदाता नामावली आउन नसकेपछि मनोनयन दर्तासमेत हुन सकेको छैन। प्रदेश २ का कयौँ जिल्लामा विवाद कायमै रहेपछि अधिवेशन नै स्थगित हुने सम्भावना बढेको हो। प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रहेकोमा सर्लाही, सप्तरी र रौतहटबाट मतदाताहरुको नाम आउन नसकेको निर्वाचन समितिले जनाएको छ।

प्रदेश २ का निर्वाचन संयोजक रमेश रिजालले जिल्लाको निर्वाचन समितिहरुबाट प्राप्त हुनुपर्ने मतदाताको नामावली अझै पनि प्राप्त हुन नसकेका कारण पूर्व घोषित निर्वाचन तालिकाअनुसार प्रकृया अगाडि बढाउन नसकिएको जानकारी दिए।

सर्लाहीमा इलेक्ट्रिक पसलमा आगलागी, ३५ लाख बराबरको क्षति
सर्लाहीमा आगलागी हुँदा लाखौँ रकम बराबरको क्षति भएको छ । मलंगवा नगरपालिका–९ बसपार्कस्थित रहेको इलेक्ट्रिक पसलमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। आगलागीले स्थानीय ५० वर्षीय रामनाथ चौधरीले सञ्चालन गरेको पसलमा पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ। पसलका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ।