जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ को पहिलो अधिवेशनको बन्दसत्र सुरु हुँदैछ ।

आजबाट सर्लाहीको लालबन्दी पार्टी प्यालेसमा नेकपा माओवादी केन्द्र प्रदेश २ को पहिलो अधिवेशनको बन्दसत्र सुरु हुँदैछ ।

माओवादीले प्रदेश अधिवेशनको उद्घाटन जनकपुरमा मंसिर २५ गते नै गरेपनि धेरै पालिकामा विवादका कारण समयमा अधिवेशन नहुँदा बन्दसत्र हुन सकेको थिएन ।

आज बन्दसत्र सुरु हुन लागेपनि कतिपय पालिकाको विवाद समाधान नभएको बुझिएको छ । माओवादी प्रदेश ईन्चार्ज प्रह्लाद बुढाथोकीले विवादित पालिकालाई छाडेर बन्दसत्र सुरु हुने बताएका छन् । उनले नेपाल प्रेससंग भने, ‘विवादका कारण प्रतिनिधि चयन नभएको पालिकाको विवरण पछि उपलब्ध गराउँछौं ।’

माओवादी केन्द्रका गिरिराजमणि पोखरेल र मातृका यादवले नेतृत्व र प्रतिनिधिमा वर्चश्व जमाउन खोज्दा धेरै पालिकामा विवाद देखिएको छ । एक नेताका अनुसार केहि पालिकामा मातृका पक्षले एकलौटी रुपमा नेतृत्व र प्रतिनिधि चयन गरेका छन् । ति पालिकाका विभेदमा परेका नेताहरु बन्दसत्र विरोध जनाउने सम्भावना छ ।

बन्दसत्रमा ७३५ प्रतिनिधि, ८४ जना मनोनित प्रतिनिधी र २१ जना केन्द्रीय सदस्यसहितका १ सय ८ जनाको आयोजक समिति अविधेशनको बन्दसत्रमा सहभागि हुने बताइएको छ । तर केहि पालिकामा विवाद देखिएकाले प्रतिनिधि संख्या घट्ने अनुमान छ ।

अधिवेशनबाट ९ जना पादधकारीसहित २७१ जनाको प्रदेश समिति चयन हुनेछ । उक्त समितिमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव, १ कोषाध्यक्ष र बाँकी सदस्य रहने प्रावधान छ । प्रदेश अध्यक्षका धेरै आकांक्षी रहेपनि प्रदेशका आन्तिरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह र पूर्वमन्त्री रामकुमार शर्माबीच प्रतिस्पर्धा हुने नेताहरु बताउँछन् । साहलाई मातृका यादव र शर्मालाई नारायणकाजी श्रेष्ठले अघि सारेको स्रोतले जनायो ।