विराटनगर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्रमा सुरक्षा पोष्ट खडा गरेको छ ।

विराटनगरमहानगरपालिकाको सिमावर्ती दशगजा क्षेत्र (नो मेन्स ल्याण्ड) मा एसएसबीले सुरक्षा पोस्ट खडा गरेको हो ।विराटनगर महानगरपालिका-१६ दरैया र भारत जोगवनीस्थित टिकुलिया बस्तीबीच पर्ने नो मेन्स ल्याण्डमा सुरक्षा पोष्ट खडा गरेको हो ।

एक महिनाअघि स्थापना गरेको सुरक्षा पोष्टमा २४ सै घण्टा एसएसबीको टोली तैनाथ छ । ‘दशगजा क्षेत्रमा सुरक्षा पोष्ट राख्न मिल्दैन, ‘विराटनगर- १६ का वडा अध्यक्ष मनोज सुब्बाले भने’ यसमा हाम्रो आपत्ति छ, तत्काल सुरक्षा निकायले पहल गरोस् ।’
दशगजामा सुरक्षा पोस्ट बनाएर भारतीय पक्षले नेपालको गतिविधि नियालिरहेको हुनसक्न उनको भनाइ छ ।

उनले कूटनैतिक रुपमा समस्या पोष्ट हटाउन पहल गर्नुपर्ने बताए ।उनका अनुसार १५-२० दिनअघि भारतीय पक्षले एक पक्षीय रुपमा दशगजा क्षेत्रमा पोष्ट खडा गरेको हो । दुई देशीय सिमानामा कुनै पनि संरचना बनाउन र गतिविधि गर्न नपाइने अन्तर्राष्ट्रिय कानून छ ।

दशगजाको अतिक्रमण हटाउने दुई देशीय सहमतिविपरीत भारतीय पक्षले पोस्ट खडा गरेर गतिविधि गरिरहेको स्थानीयको दाबी छ ।

काठ र कर्कटपाताको प्रयोग गरेर संरचना तयार पारेको एसएसबीले दशगजामा बसेर चेकजाँच गर्ने गरेको स्थानीयले बताए । नाकामा एसएसबीले धम्क्याउने र नेपाली नागरिकलाई दुर्व्यवहार गर्ने गरेको स्थानीयको गुनासो छ ।

दशगजामा एसएसबीले पोस्ट बनाएको विषयमा जानकारी आएपछि हटाउनका लागि पहल भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

दशगजा क्षेत्रमा संरचना निर्माण गर्न नपाउने बताउँदै उनले संरचना हटाउनका लागि भारतीय पक्षसँग छलफल गर्ने बताए ।

भारतीय समकक्षीसँग छलफलबाट समस्या सामधान नभए गृह मन्त्रालयमार्फत कूटनैतिक पहल गरिने उनको भनाइ छ ।