पश्चिमी वायुको प्रभावले पश्चिम तराईमा बिहिबार असिनासहितको वर्षा भएको छ। बुधबार बाँक्लो हुस्सु र कुहिरोले चिसिएको सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको तराई क्षेत्रमा बिहीबार दिउँसो असिनासँगै वर्षा भएको हो।
वर्षाले यहाँको चिसो झन बढेको छ भने असिनाले अन्नबालीमासमेत क्षति पुर्याएको छ।
पहाडी जिल्लाको उच्च स्थान तथा हिमाली जिल्लामा हिमपात भएको छ। अहिले पश्चिम तराईका अधिकांश जिल्लामा सामान्य वर्षा हुनुका साथै केही स्थानमा असिना पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वरिष्ठ मौसमविद राजु प्रधानाङ्गका अनुसार पश्चिम तराईका अधिकांश जिल्लामा अहिले वर्षा भइरहेको छ। आज रातीदेखि बागमती प्रदेशमा पनि वर्षा हुनेछ। यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनेछ।
लुम्बिनी प्रदेशका बाँके र दाङमा अरू जिल्लाभन्दा केही बढी वर्षा भएको छ। त्यस्तै कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोट लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश हिमाली क्षेत्रमा हिमपातसमेत भइरहेको मौसमविदहरूले जनाएको छन्।
तराईका जिल्लामा वर्षासँगै सामान्य असिना पानी र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुँदा अत्यधिक चियो बढेको छ।
बिहानैदेखि तराईमा हुस्सु लागेको थियो र पहाडमा कुहिरो ढाँकेको थियो। हुस्सु, कुहिरोसँगै वर्षा भएपछि यहाँका उडानसमेत प्रभावित भएका थिए।
मौसमविद प्रधानाङ्गका अनुसार भोलि देशैभर वर्षा हुने र केही स्थानमा चट्याङसहित असिना पानी पर्नेछ।
शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनुका साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रूपमा सुधार हुने प्रधानाङ्गले सेतोपाटीलाई जानकारी दिए। [ समाचार सेतोपाटी बाट ]
Discussion about this post