काठमाडौं । तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्नबाट सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षीबीच बैठक बसेको थियो ।

बैक्ठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली बीचको बैठक सकिएको हो ।

बैठकमा स्थानीय तह निर्वाचन, एमसिसी, अवरुद्ध संसद खुलाउनेसहितका विषयमा छलफल भएको जनाइएको छ । ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक बालुवाटार पुगेका हुन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउन सहयोग मागेका थिए । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई चुनावसम्म स्थगित गर्ने प्रस्ताव गरे ।

‘एमसीसीका सन्दर्भमा उहाँले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गरोस् वा संयुक्त रुपमा प्रतिपक्ष समेत भएर चुनाव पछाडि मात्र अगाडि बढाउन उचित हुन्छ भनेर प्रस्ताव पठाउँ भनेर आग्रह गर्नु भएको छ,’ एमाले महासचिव शंकर पोखरेलले भने ।