माघ २७ गते । धनुषाको मिथिला नगरपालिकाका हक्की खेलाडीहरुलाई आवश्यक सहयोग गर्न स्थानीय सरकारलाई अनुरोध गरिएको छ ।
मिथिला नगरपालिकालाई कार्य क्षेत्र बनाई गठित मिथिला नगर युवा संजालले नगरभित्रका हक्की खेलाडीहरुलाई आवश्यक सहयोग गर्न नगर प्रमुखलाई ताकेता गरेको हो ।
संजालको निर्णय अनुसार खेलाडीहरुलाई आवश्यक खेलकुद सामाग्री सहयोग गर्नका लागि स्थानीय सरकारका प्रमुखलाई लिखित पत्रसहित अनुरोध गरिएको संजालका प्रवक्ता रुद्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बिहिवार संजालका अध्यक्ष राजुकुमार सिंहको नेतृत्वमा नगरपालिका पुगेका संजालका सदस्य तथा खेलाडीहरुको टोलीले नगर उपप्रमुख ताराकुमारी बस्नेत लामालाई अनुरोध पत्र बुझाएको हो ।
मिथिला नगरपालिका–२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत हक्की खेलाडीहरुलाई नियमित प्रशिक्षण दिईरहेपनि विद्यालय तथा खेलाडी विद्यार्थीहरुलाई खेल सामाग्रीहरु व्यवस्थापनमा समस्या भएपछि संजालले पालिकासँग सहयोग माग्ने निश्कर्ष निकालेको प्रवक्ता कार्कीको भनाइ छ ।
उनीहरुले २० जना छात्र र २० जना छात्रा हक्की खेलाडीका लागि जर्शी, प्याड, किपर प्याड, जुत्ता, लङ्ग मुजा, हक्की स्टिक, हक्की बललगायतका खेलकुद सामाग्रीहरु उपलब्ध गराईदिन पालिकासँग माग गरेका छन् ।
यस्तै उनीहरुले यसअघि विरगञ्जमा भएको चौथो राष्ट्रिय साहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा मधेश प्रदेशको तर्फबाट १६ जना खेलाडीहरु मध्ये मिथिला नगरपालिकाका पाँचजना छात्रालाई सम्मान गर्न समेत अनुरोध गरेको छ । प्रतियोगितामा सेमिफाइनलसम्म पुगेको मधेश प्रदेश टिममा यस नगरपालिकाकी भूमीका कुमारी महतो, निरा कुमारी महतो, स्रुती कुमारी राय, अन्जली महतो र मधुकुमारी साह सहभागी भएकी थिइन् ।
राष्ट्रियस्तरको प्रतियोगितामा उनीहरुको सहभागिताले यस नगरको समेत शान बढेकोले उनीहरुको मनोवल बढाउन पनि सम्मान गरिनुपर्ने संजालका अध्यक्ष राजुकुमार सिंहले बताए ।
उक्त प्रतियोगितामा सहभागी यस नगरका पाँच छात्रा नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत छिन् ।
Discussion about this post