मधेशटप, फागुन २ गते

धनगढी; सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले राजीनामा दिएका छन् ।

जन्म मिति सम्बन्धी विवाद भएपछि धामीले आइतबार प्रदेश प्रमुख देवराज जोशीलाई राजीनामा बुुझाएका हुन् ।प्रदेश प्रमुख जोशीले धामीले बुुझाएको राजीनामा पत्र आइतबार नै स्वीकृत गरेको जानकारी सभामुुख अर्जुनबहादुर थापालाई गराइसकेको उनको निजी सचिवालयले जनाएको छ ।

सभामुुख थापाका स्वकीय सचिव कविन्द्र रोकायाले सचिव धामीको राजीनामा स्वीकृत भएसँगै कानुन उपसचिव दोजेन्द्र काफ्लेलाई निमित्त सचिवको जिम्मेवारी दिइएको जानकारी दिए ।

सचिव धामीको नागरिकता र शैक्षिक प्रमाण पत्रमा फरक(फरक जन्म मिति राखिएको र सचिव पदका लागि अयोग्य भएको भन्दै विवाद भएको थियो ।

२०३३ सालमा जारी भएको धामीको नागरिकतामा १८ वर्ष उल्लेख भए पनि शैक्षिक प्रमाणपत्रमा भने जन्म मिति २०१६र११र२९ उल्लेख छ ।

प्रदेशसभा सचिवमा ४५ वर्ष पूरा भएर ६० वर्ष पूरा नभएको व्यक्तिलाई नियुक्त गर्ने प्रावधान ऐनमा राखिएको छ । धामी २०७६ सालको जेठ २८ गते प्रदेशसभा सचिवमा नियुक्त भएका थिए ।

नागरिकता अनुसार धामीले उक्त मितिमा ६० वर्ष पूरा भइसकेपछि नियुक्ति लिएको भन्दै विवाद भएको थियो ।