मधेशटप, फागुन ९ गते।
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको दोस्रो बैठक विभिन्न ७ निर्णय गर्दै सिन्धुपाल्चोकको सुकुटेमा आइतबार राती समापन भएको छ।कांग्रेस बागमती प्रदेशको दोस्रो पूर्ण बैठकले जगदिशनर सिंह केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ ।
त्यस्तै आगामी दिनमा हुन लागेको स्थानीय निकायको निर्वाचनमा अघिल्लो स्थानीय निकाय निर्वाचनमा भएको मतसंख्या सहितको डाटा संकलन गरी, आगामी दिनमा खेल्नुपर्ने भूमिकासहित प्रदेशले जिल्ला पार्टीमा १५ दिनभित्र पठाउने र जिल्लामार्फत स्थानीय निकायमा पठाउने निर्णय भएको छ ।
अहिलेको जल्दो बल्दो विषय एमसिसीको सम्बन्धमा केन्द्रले उठाएको विषयवस्तु समावेश गरी आमजनताले बुझ्ने सरल र स्पष्ट भाषामा थप विषयवस्तु तयार गरी कम्युनिष्टले गरेको भ्रमलाई चिर्दै जिल्लामार्फत स्थानीय निकायमा पठाई जनतालाई बुझाउने निर्णय भएको सह महामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र विभिन्न समिति र विभागका सदस्यहरूको मासिक लेवी तोकेको छ भने कांग्रेस बागमती प्रदेश संसदीय दललाई प्रदेशसभा सदस्यबाट पार्टी केन्द्रमा बुझाउँदै आएको मासिक लेवी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने निर्णय भएको सह महामन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले प्रदेशको प्रधान कार्यालय हेटौंडा र काठमाडौँको सम्पर्क कार्यालय नियमित सञ्चालन गर्दै पार्टीको दैनिक राजनीतिक कार्यक्रम सुरु गर्ने, प्रदेश सदस्यहरूको मर्यादाक्रम मिलाउन संयोजक महामन्त्री कञ्चनचन्द्र बादे र सदस्यहरुमा सह महामन्त्री जीवन डंगोल र ऋषिराम घिमिरे तोकिएको छ
भने प्रदेशको दोस्रो पूर्ण बैठक सिन्धुपाल्चोकको सुकुटेमा सफलतापूर्वक सम्पन्न गर्न सिन्धुपाल्चोक कांग्रेस र केन्द्रीय सदस्य मोहन बस्नेतलाई विशेष धन्यवाद दिने निर्णय गरेको छ ।
कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको बैठकमा प्रदेश पदाधिकारी, सदस्यहरू, जिल्ला सभापतिहरूले एमसिसी, स्थानीय निकायको निर्वाचन र प्रदेश कार्यसमितिले आगामी दिनमा प्रदेशले गर्नुपर्ने कार्यको बारेमा आ आफ्नो धारणा राख्नुभएको थियो ।
Discussion about this post