मधेशटप, फागुन १० गते।

लोसपा परित्याग र पार्टी प्रवेश कार्यक्रमको अवसरमा आयोजित पत्रकार सम्मेलनमा नेता लालले मधेश र मधेशीको मुद्दा दलहरुले छाडेका हुनाले आफूहरु सो पार्टी परित्याग गर्न बाध्य भएको बताएका छन ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट कार्यकारिणी समितिका सदस्य वृशेषचन्द्र लाल र संविधानसभा सदस्य डा विजय कुमार सिंहको नेतृत्वमा एक सयभन्दा बढी कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।

पार्टी परित्याग गर्नेहरुमा तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपा का पूर्व केन्द्रिय सदस्यहरु र जिल्ला एवं स्थानीय तहका नेताहरु रहेका छन् ।

उनीहरु तमलोपामा प्रवेश गरेका हुन । अगामी फागुन १५ गते तमलोपाको राष्ट्रिय सम्मेलन गरी पार्टीका अध्यक्षमा वृशेषचन्द्र लाल र वरिष्ठ नेतामा डा विजय कुमार सिंह रहने बताइएको छ ।

नेता डा सिंहले तमलोपालाई क्षेत्रीय पार्टीको रुपमा विकसित गरिने र क्षेत्रीय पार्टीहरु जीवित रहेको खण्डमा मात्र संघीयता मजबुत हुने सोचका साथ तमलोपामा आफूहरु प्रवेश गरेको बताइएको छ ।

मधेशका राजनीतिक दलहरु जनताको विद्रोहपूर्ण संघर्ष र बलिदानलाई सम्बोधन गर्न सकेन, त्यसैले जनताको संघर्ष र बलिदानलाई सम्बोधन गर्न वृहत राजनीतिक शक्तिको निर्माण गर्नका लागि नयाँ पार्टीले आफ्नो मुख्य एजेण्डा बनाउने कुरा डा सिंहले बताएका छन ।

मधेशको चाहना र आवश्यकता अनुसार तमलोपालाई बलियो बनाउने र यस क्षेत्रको भूमि, इतिहास, भाषा, संस्कृति र जीवनशैलीको उत्थानका लागि कार्य गर्ने जनाइएको छ ।