मधेशटप फागुन १३ गते ।

ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल एपीएफ विजयी भएको छ ।

एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गरेको हो ।

यसअघि एपीएफले पहिलो खेलमा प्रदेश नं १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो । लगातार तीन खेलमा पराजित भएको ललितपुर मेयर्स प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि ललितपुर पहिलो खेलमा सुदूरपश्चिमसँग ५८ रनले र दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग २ रनले पराजित भएको थियो ।

आजको खेलमा ८१ रनको विजय लक्ष्य एपीएफले १३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफका लागि ज्योति पाण्डेले अर्धशतकीय पारी खेलिन् ।

उनले ४५ बल खेल्दै अविजित ५६ रन बनाइन् ।

यस्तै रोमा थापाले अविजित ११ रनको योगदान दिइन् । बलिङतर्फ ललितपुर मेयर्सकी अनुराधा चौधरीले एक विकेट हात पारिन् ।