मधेशटप डेस्क,फागुन १४
सुर्खेत ; मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा मृत्यु भएपछि स्थानीयले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् ।
दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राख्दै स्थानीयले बजार र सडक बन्द गराएका हुन् ।
आज बिहान ६ बजेदेखि सुर्खेत–नेपालगञ्ज सडकखण्ड अन्तर्गत तीन ठाउँमा सडक अवरुद्ध पारेका छन् ।
भेरीगंगा नगरपालिका वडा नम्बर २ सत्तरी, वडा नम्बर ४ तोलीखोलामा पनि सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन ।
उनका अनुसार कर्णाली प्रदेशको मुख्य नाका बन्द हुँदा प्रदेश भित्रिने र बाहिरिने यातायातका सम्पूर्ण साधनहरु ठप्प भएका छन् ।
बिहान नेपालगञ्जका लागि हिंडेका केही सवारी साधन र यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।
Discussion about this post