मधेशटप डेस्क, फागुन १८गते ।

जनकपुरधाम ; धनुषा जिल्ला अधिवेशन तयारीका लागि बस्नु पर्ने बैठकलाई लिएर अध्यक्ष राजकिशोर यादव र सचिव तेजनारायण यादवबीच भएको विवादले उग्ररुपमा लिँदा समानान्तर कमिटी गठनसम्म पुगेको हो ।

सोमबार अध्यक्ष राजकिशोर विना नै सचिव तेजनारायणले बैठक बोलाएर अध्यक्षसँग समन्वय गरेर जिल्ला अधिवेशन गर्ने तयारी गरेका थिए ।

तर एकदिन नबित्दै दुवै पक्षले जनकपुरधाम उपमहानगरको नगर अधिवेशन गरेर छुट्टाछुटै नगर कमिटी गठनको घोषणा गरेका छन् ।

दुई पक्षले छुट्टाछुटै गरेको नगर अधिवेशन गरी आफ्नो कमिटीलाई आधिकारिक कमिटीको दावी समेत गर्न थालेका छन् । जनकपुरधाम नगर कमिटी अध्यक्षमा दुई जनाले दाबी गरेपछि विवादले नयाँ मोड लिएको हो ।

जिल्ला अध्यक्ष राजकिशोर पक्षले नगर अध्यक्षमा शुभनारायण मण्डल निर्वाचित भएको दावी गरेको छ भने पूर्वमन्त्रीसमेत रहेकी एमाले पोलिटब्युरो सदस्य जुली महतो पक्षले सुरेन्द्र भण्डारी अध्यक्षमा चयन दावी गरेको छ ।

जिल्ला अध्यक्ष राजकिशोरले पार्टीभित्र गुट उप गुटहरु मौलाउँदै गएको भन्दै जिल्लाको विभिन्न स्थानीय तहमा विवाद उत्पन्न हुनु र जनकपुरधाम उपमहानगर कमिटी समेतमा समानान्तर कमिटी गठन हुनु गलत रहेको प्रतिक्रिया दिएका छन ।

जिल्ला अध्यक्ष राजकिशोर पक्षलाई पूर्वमन्त्री समेत रहेका पार्टीका केन्द्रीय सदस्य यदुवंश झाको समर्थन छ भने केन्द्रीय सचिव रघुवीर महासेठसँग पूर्व माओवादीका प्रभु साह, रामचन्द्र मण्डल लगाएकाहरुको साथ छ ।

यदुवंश झा पक्षधरका नगर संयोजक शुभनारायण मण्डल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का निवर्तमान वडाध्यक्ष हुन् ।

उनीमाथि भ्रष्टाचारको आरोप लागेपछि अहिले अहिले निलम्बनमा परेका छन् ।

यस्तै महासेठ पक्षधरका भण्डारी ठेकेदार र व्यवसायी हुन् ।