सप्तरी : स्थानीय निर्वाचनको समय नजिकिंदै जाँदा नेपाली कांग्रेस सप्तरीमा विवाद बढेको छ । जिल्ला नेतृत्वका लागि २४ फागुनमा भएको निर्वाचनमा उपसभापति पदमा जित–हारको विषयलाई लिएर विवाद उत्पन्न भएको हो ।
कांग्रेस सप्तरीको निर्वाचनमा उपसभापति पदमा ६ मतले पराजित भएका उम्मेदवारलाई केन्द्रीय निर्वाचन समितिले १ मतले निर्वाचित भएको भन्दै प्रमाण पत्र दिएपछि विवाद चुलिएको छ ।
निर्वाचनको मत परिणाम अनुसार उपसभापति पदमा संस्थापन पक्षका फतेह मोहम्द १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत ल्याएर निर्वाचित भएका थिए ।
डा. शेखर कोइराला पक्षका उम्मेदवार रामकुमार यादव १ हजार ५३ र ध्रुवनारायण चौधरी ९ सय ५४ मत प्राप्त गर्दै पराजित भएका थिए ।
रामप्रसादसँग ६ मतले पराजित भएका रामकुमारले पुनः मतगणनाको माग गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका थिए । सुरूमा ६ मतले हारेका रामकुमार फेरि गन्दा १ मतले विजयी भएका थिए ।
केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतबाट प्राप्त सक्कल मतगणना रजिष्टर र मतगणना सिट समेत जाँच गरी हेर्दा यादवको १ हजार ५३ र मण्डलको १ हजार ५२ मात्रै देखिएको भन्दै यादवलाई उपसभापति पदमा विजयी भएको प्रमाणपत्र दिएको छ ।
Discussion about this post