जनकपुरधाम । कुनै समयमा समाजमा अपहेलित बनेको तराईको चमार समुदायबाट बासमती हरिजन सरावल गाउँपालिकाकी उपाध्यक्ष बन्नुभएको छ ।
सरावल गाउँपालिका वडा नम्बर ४ गोबरहियाकी साधारण किसान परिवारकी बासमती स्थानीय तहको दोस्रो निर्वाचनबाट चमार समुदायबाट पहिलो उपाध्यक्ष बन्नुभएको हो ।
नेकपा एमालेतर्फबाट स्थानीय तह निर्वाचनमा भाग लिनुभएको थियो । राष्ट्रिय दलित आयोगका पूर्वसदस्य राजुप्रसाद हरिजनले जातीय व्यवस्थाबाट जकडिएको तराईको समाजमा छुवाछूतको जालो तोड्दै उहाँ उपाध्यक्ष बन्नुभएको जानकारी दिनुभयो ।
उत्पीडित वर्गका लागि यो एउटा ठूलो उपलब्धि हो, आयोगका पूर्वसदस्य हरिजनले भन्नुभयो ।
चुरे पहाडको फेदीदेखि भारतसम्म जोडिएको सरावल गाउँपालिकाको सिमानासँग जोडिएको दक्षिणी भाग तराईमा दलितको ठूलो बस्ती रहेको छ । स्थानीय तह निर्वाचन सम्पन्नपछि अहिले बासमती हरिजनले सरावल गाउँपालिकाको उपप्रमुखको जिम्मेवारी ग्रहण गर्नुभएको छ ।
नेपाली कांग्रेस पार्टीबाट सरावल गाउँपालिकाकी पूर्वउपाध्यक्ष उत्तमा रायलाई ३९४ मतान्तरले पराजित गर्दै बासमती हरिजन उपाध्क्ष बन्नुभएको हो । विपन्न परिवारबाट आएकी उपाध्यक्ष हरिजनका श्रीमान् अहिले पनि दैनिक खर्च चलाउनका लागि नवलपरासीको सरावलस्थित एउटा उद्योगमा सेक्युरिटी जागिर गर्दै आउनुभएको छ ।
यतापश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको पहिलो बैठकले नगरपालिकाभित्र रहेका द्वन्द्वपीडित परिवारका लागि मासिक दुई हजार रुपियाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । गठबन्धनतर्फबाट निर्वाचित हुनुभएका नगरप्रमुख शम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्यायले पहभार ग्रहण गर्दै सो निर्णय गर्नुभएको हो ।
नगरपालिकाको पहिलो बैठकले नगरपालिकाभित्र रहेका सबै द्वन्द्वपीडित परिवारलाई मासिक दुई हजार रुपियाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनुभएको हो ।
विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियालाई टेवा पुग्नेगरी दसवर्षे जनयुद्धक्रममा राज्य एवं विद्रोही पक्षबाट मारिएका पीडित परिवारलाई प्रतिमहिना दुई हजार रुपियाँ दिने निर्णय भएको उपप्रमुख उपाध्यायले बताउनुभयो ।
Discussion about this post