नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झाैता संसदबाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको दावी गरेका छन्।
सांसद सुवालले सो सम्झौता संसदबाट पारित गरेपछि नेपालमा महंगीसमेत बढेको बताए।
आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथिको खर्च कटौती प्रस्ताव पेश गर्दै उनले अमेरिकी सरकारले देउवा सरकारलाई रुसको विरुद्धमा संयुक्त राष्ट्र संघमा मतदान गराएपछि नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य बढेको तर्क गरे।
सो विषयमा तटस्थ बसेको भारतले अहिले पनि अन्तर्राष्ट्रिय बजार मूल्यको एक तिहाइ मूल्यमा पेट्रोलियम पदार्थ र एलपी ग्यास पाएपनि नेपालले रुसको विरुद्धमा मतदान गरेकाले महंगोमा आयात गर्नु परेको उनकाे भनाइ छ।
सांसद सुवालले भने, ‘पाँच दलीय गठबन्धन सरकारले एमसिसी सम्झौता संसदबाट जब्बरजस्ती पारित गरेपछि नेपालको आर्थिक संकट बढ्यो। सर्वसाधारण जनता महंगीकाे मारमा परे। एमसिसी सम्झौता पास गरेकै कारण महंगी बढेको हो। यसको प्रमाण हामी दिन सक्छौँ। अमेरिकी साम्राज्यवादले देउवा सरकारलाई संयुक्त राष्ट्र संघमा रुसको विपक्षमा मतदान गरायो। यसैकारण महंगी बढेको हो। मतदानमा तटस्थ बसेको भारतलाई रुसले अन्तर्राष्ट्रिय बजारमा बजार मूल्यको एक तिहाइ मूल्यमा तेल, ग्यास उपलब्ध गरायो। खै, नेपालको कूटनीति? तेल र ग्यास भारतले जस्तै गरेर ल्याउन सरकार असफल भएको छ।’
सांसद सुवालले देउवा नेतृत्वको गठबन्धन सरकार कूटनीतिक क्षेत्रमा पूर्णत असफल भएको पनि पटकपटक दोहोर्याए।
Discussion about this post