जनकपुरधाम । “चुरेको माटो चुरेलाई सफा पानी सबैलाई” मूल नारा सहित धनुषामा विभिन्न कार्यक्रमको आयोजना गरेर बिहीबार चुरे दिवस २०७९ मनाइएको छ ।
मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोको प्रमुख आतिथ्यमा विभिन्न जातको बिरुवाहरू चुरे क्षेत्रमा रोपण गरिइएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री महतोले चुरे संरक्षित भए मधेश समृद्ध र मधेश समृद्ध भए मात्र देश समृद्ध हुने भएकोले चुरेको संरक्षणमा जोड दिनु पर्ने आवश्यकतामा जोड दिनु भयो । उहाँले चुरेको दोहन हामीले नै गरेकाले यसको संरक्षण गर्दे दायित्व पनि हाम्रै भएको बताउनु भयो ।
मधेस प्रदेशको धनुषा जिल्लामा गर्ने औरहीबाबा सामुदायिक वन र दिलीप बाटिकामा विभिन्न जातको बिरुवा रोप्ने काम भएको छ । तराई मधेश चुरे संरक्षण विकास समितिको आह्वानमा आज मात्र देशभरिमा १ लाख बिरुवा रोप्ने कार्यक्रम अन्तर्गत धनुषामा वृक्षारोपण गरिइएको छ ।
वृक्षारोपण कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, चुरे संरक्षण अभियानी सुरेश शर्मा तथा सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि भद्र भलादमी र सर्वसाधारणको सहभागिता रहेका थिए ।
कार्यक्रममा वन तथा वातावरणको क्षेत्रमा विशेष योगदान दिने वातावरण संरक्षण अभियानी एवं सहायक वन अधिकृत सुरेश शर्मालाई दोसल्ला ओढाएर सम्मान पनि गरिइएको थियो ।
धनुषामा चुरेको विनाश विगतमा अत्यधिक मात्रामा भएका कारणले अहिले यसको नकारात्मक प्रभाव विभिन्न क्षेत्रमा परेको देख्न सकिन्छ ।
Discussion about this post