काठमाडौं । झापासहितका पूर्वी तराईमा ‘नाइरोबी फ्लाई’ किराबाट निस्कने कडा एसिडबाट हुने संक्रमण बढ्न थालेको छ । यहाँका अस्पतालले यस्ता बिरामीको संख्या दिनहुँ बढिरहेको बताएका छन् ।
दमक अस्पतालका छालारोग विशेषज्ञ डा. गुरु पौडेलले पछिल्लो एक सातामा नाइरोबी किराको एसिडका कारण घाउ भएर करिब तीन सयजना उपचारका लागि आएको बताए । ‘पछिल्लो समय दैनिक ४५–५० जना बिरामी आइरहेका छन् । पहिला मेरोमा दादका बिरामी धेरै आउँथे । तर, अहिले अधिकांश बिरामी नाइरोबी फ्लाईकाकारण घाउ भएका हुने गरेका छन्,’ उनी भन्छन्, ‘नाइरोबी फ्लाईकै कारण हो भनेर यकिन गर्नबायप्सी गर्नुपर्छ । तर, सबै लक्षण मिलेको छ । क्लिनिकल डाइग्नोस्टिकले नै नाइरोबीकै कारण भन्ने पुष्टि हुन्छ ।’
दमक अस्पतालमा मात्र पछिल्लो एक सातामा करिब तीन सय बिरामी यही समस्याका कारण आएका छन् । भारी वर्षापछि यसको फैलावट भएको हुन सक्ने डा. पौडेलको भनाइ छ ।
यस्ता छन् नाइरोबीका लक्षण नाइरोबीका कारण शरीरका जोर्नीहरूमा घाउ देखिएको डा. पौडेलले बताए । ‘आँखा र शरीरको जोर्नीमा समस्या देखिन्छ । शरीरको जुन ठाउँमा किरा थिचिन्छ, त्यहीँ समस्या देखिने हो,’ उनले भने, ‘यो किराले टोक्ने होइन । थिचिएपछि यसबाट कडा एसिड निस्किन्छ । त्यही कारण घाउ हुन्छ ।’किरा बसेको भाग रातो हुने, पोल्ने, फोका उठ्ने, फुट्ने र थप संक्रमण हुने डा. पौडेलले बताए । उनका अनुसार यो किराको संक्रमण तराई, पहाड र हिमाली क्षेत्रसम्म हुन्छ ।
यद्यपि, जिल्ला स्वास्थ्य कार्यालय झापाले भने झापामा नाइरोबी किराका कारण हुने संक्रमण नदेखिएको जनाएको छ । स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले झापामा नाइरोबीका कारण संक्रमण फैलिएको हल्ला निराधार भएको बताए । ‘यो हल्ला मात्र हो । यसको पुष्टि भएको छैन,’ उनले भने, ‘शरीरमा घाउ त देखिएका छन् । तर, प्राविधिक पुष्टि भइसकेको छैन ।’
सिक्किममा सयभन्दा बढी विद्यार्थीमा नाइरोबी फ्लाई संक्रमण भारतको सिक्किममा तीव्र गतिमा फैलिरहेको नाइरोबी फ्लाईको संक्रमणबाट इस्ट सिक्किमका सयभन्दा बढी विद्यार्थी बिरामी परेका छन् । बर्खामा नाइरोबीको प्रजनन धेरै हुने भएकाले यसको जोखिम बढी हुने सिक्किमको स्वास्थ्य विभागले जनाएको छ ।
नाइरोबी फ्लाईलाई केन्याली फ्लाई वा ड्र्यागन बगसमेत भन्ने गरिन्छ । पेडेरस एक्सिमियस र पेडेरस सबाइस नामक किराहरू सुन्तला र कालो रंगका हुन्छन् । उच्च वर्षा हुने क्षेत्रमा यो बढी देखिने गर्छ ।
खासगरी बत्तीमा आकर्षित हुने भएकाले साँझपख बढी देखिन्छ । यो वेला सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । नाइरोबीको संक्रमण एक वा दुई सातामा निको हुन्छ । तर, कतिपय अवस्थामा संक्रमण फैलिएर जटिलता निम्तिने जोखिम रहन्छ ।
नाइरोबीको संक्रमण विशेषगरी केन्यामा देखिने गरेको पाइन्छ । यसबाहेक अफ्रिकाका केही मुलुकसँगै भारत, जापान, इजरायल, पाराग्वेमा पनि संक्रमण फैलिएको पाइन्छ ।
हरेक दिन ५० जनासम्म नाइरोबी फ्लाईका संक्रमित बिरामी हेरिरहेको छु : डा. गुरु पौडेल, छाला तथा यौनरोग विशेषज्ञ
नाइरोबीका कारण शरीरमा घाउ भएका बिरामी दमक अस्पतालमा मात्र दैनिक ४०–५० जना फेला परिरहेका छन् । क्लिनिकल डाइग्नोस्टिकबाट हामीले यही संक्रमण भन्ने पत्ता लगाएका हौँ । नाइरोबी एउटा किरा हो । टोक्ने–चिल्ने गर्दैन ।
यसको सिरोमिक फुडले असर गर्ने हो । यो हाम्रो शरीरमा यसै हिँडेर गयो भने पनि केही गर्दैन । यसलाई गाह्रो–साह्रो पर्यो भने वा थिचियो भने यसको फ्युड निस्किन्छ, जसमा कडा केमिकल र एसिड हुन्छ । फ्युड लागेको ठाउँमा तत्काल नै शरीर रातो हुने, फोका आउने, पोल्ने, फोका फुट्ने हुन्छ ।
यसकै कारण क्रिटिकल हुँदैन । तर, छालाको ब्यरियर नष्ट हुँदा अरू ब्याक्टेरियल इन्फेक्सन हुन सक्छ । आँखामा फ्युड परे बन्द भइहाल्छ । यो रोग सर्दैन । त्यही फ्लाईको केमिकलले मात्र शरीरमा असर गर्छ । विशेषगरी प्रत्येक वर्ष गर्मीयाम र पानी परेपछि यो किरा बढी देखिन्छ । अघिल्ला वर्षमा यो यति धेरै थिएन ।
Discussion about this post