दाङ – प्रथम लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधि बाँके जिल्लाले जितेको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा दाङको बेलझुण्डीमा सञ्चालित १२ औँ सङ्घीय तथा प्रथम लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि बाँकेले जितेको हो । प्रतियोगितामा १९ स्वर्ण, सात रजत र १० कास्य पदक हात पार्दै बाँकेले उपाधिसँगै शिल्ड जित्न सफल भएको हो ।
त्यसैगरी बर्दियाले नाै स्वर्ण, नाै रजत र १२ कास्य पदकका साथ दाेस्राे हुँदा दाङ ६ स्वर्ण, ११ रजत र १३ कास्य पदकसहित तेस्राे भयाे । तीन दिनसम्म चलेको प्रतियोगितामा कपिलवस्तुले ६ स्वर्ण, चार रजत र दुई कास्य पदकसहित सान्त्वना स्थान प्राप्त गर्याे ।
यसैबीच प्रतियोगिताअन्तर्गत कराँते छात्रमा गुल्मीका हिमाल क्षेत्री र छात्रामा दाङकी डोल्मा थापा उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यस्तै एथ्लेटिक्स छात्रमा बाँकेका युवराज विक र छात्रामा दाङकी निशा चौधरी उत्कृष्ट खेलाडी बन्न सफल भए । उसुतर्फ छात्रमा बाँकेका सुदीप रोका मगर र छात्रामा बर्दियाकी लिन्दा दहित, भलिबल छात्रमा रुपन्देहीका बादल राना र छात्रातर्फ रुपन्देहीकै सपना डाँगी उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
प्रतियोगितामा व्यक्तिगत विधाअन्तर्गत एथ्लेटिक्स, उसु, कराँतेमा पहिलाे भएका खेलाडी र टिम गेमतर्फको कबडी, भलिबलमा छनोटका आधारमा टिम तयार गरिनेछ । छनोटमा परेका खेलाडीले यही असार २८ देखि ३० गतेसम्म हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ्न् ।
यसैबीच प्रतियोगिताको समापन समारोह लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईको अध्यक्षता र ऊर्जा जलस्राेत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।
Discussion about this post