जनकपुरधाम : आगामी चुनावी सहकार्य र गठबन्धनको विषयमा सहकार्य गरेर अघि बढ्न केही दिन अघि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपेन्द्र यादव र महन्थ ठाकुरलाई भेटेको खुलेको छ।
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष ठाकुरसँग डा. सिके राउतले छुट्टा छुट्टै भेट गरी अगामी चुनाव र गठबन्धनको विषयमा छलफल गरेको डा. सिके राउत सचिवालयले जनाएको छ।
दुई साता अघि नेताद्वय यादव र ठाकुरसँग भेटेको तस्वीर डा. सिके राउत सचिवालयले आइतबार सार्वजनिक गरेको हो।
भेटघाट सकरात्मक भएको सचिवालयले जनाएको छ। केही दिन पहिलाको सो भेटमा राउतले यादवलाई आफूलाई सप्तरी क्षेत्र नं. २ मा लड्न सहयोग गर्न र अन्य क्षेत्र रोज्न समेत आग्रह गरेका थिए। यसमा यादव सकरात्मक रहेको सचिवालयले जनाएको छ।
डा. राउतको गृह क्षेत्र सप्तरी क्षेत्र नम्बर २ भएकाले यादवले अर्को क्षेत्र रोज्ने र आफूहरुलाई सघाउने सचिवालयले बताएको हो।

‘उहाँहरूले अर्को क्षेत्र रोज्नुहुन्छ र डा. राउतलाई सघाउनु हुन्छ भनेर हामी विश्वस्त छौं,’ राउतको सचिवालयले भनेको छ,‘राजनीतिमा काम अनुसार समर्थन, विरोध र सहकार्य अपरिहार्य कुरा हुन्, तर यसलाई व्यक्तिगत लक्षित रूपमा चित्रित गर्नु त्यति उपयुक्त र परिपक्व हुँदैन।’
डा. राउतले सप्तरी क्षेत्र नम्बर २ बाट आगामी निर्वाचनका लागि उम्मेदवारी गत बिहीबार नै घोषणा गरिसकेका छन्। उक्त क्षेत्रमा यसअघिको निर्वाचनमा जसपा अध्यक्ष यादव निर्वाचित भएका थिए।

‘रेशम चौधरीजीको नागरिक उन्मुक्ति पार्टी सहित अन्य दलहरूसँग पनि विभिन्न चरणको संवाद जारी छ। एकातिर ५/७ ठूलठूला दलहरूको गठबन्धन हुने भएपछि जनमत पार्टी एक्लै, कसैसँग कुनै सहकार्य नै नगरी, जानु स्थानीय निर्वाचनमा झैं आत्मघाती हुन सक्छ। त्यसैले जिल्ला निर्वाचन क्षेत्र अनुसार समझदारी र सहकार्य हुनसक्ने सम्भावना पनि छ।’ सचिवालयको पोस्टमा उल्लेख छ।
डा. सिके राउत जनमत पार्टीलाई तराई मधेशको बैकल्पिक शक्तिको रुपमा दावी गर्ने गरेका छन्। तर, चुनावको नजिक राउतले दुई मधेश केन्द्रीत ठूला दलको नेतासंग छुट्टाछुट्टै रुपमा भेटेर गरेको छलफललाई अर्थपूर्ण मानिएको छ।
Discussion about this post