जलेश्वर । सावन पछिया, भादो पूर्वा, आशिन बहे इशान !
कात्तिक भर शिश कन्तो न डोले कत्त रखबा धान, हो किसान !’ (साउनमा पश्चिम र भदौमा पूर्व दिशाबाट चिसो हावा चलोस् । असोजमा इशान कोणबाट मन्द हावा बहोस् र कात्तिकभरी धानको बोटसमेत नहल्लिने हप्प बनोस्, यस्तो भए धान राख्ने भकारी अपुग हुन्छ ।)
करिब दुई सताब्दीअघि कृषि र मौसमसम्बन्धी भविष्यवाणि गर्न खप्पिस मानिएका ‘डाक’ का वचन हुन् यी । मधेसमा खबर गाउँबस्ती घरघर पु¥याउनेलाई ‘डाक’ भनिन्छ । वास्तविक नाउँ प्रचारमा नआएका ती भविष्यवाणि गर्नेलाई सबैले ‘डाक’ सम्बोधन गर्ने र उनका भविष्यवाणिलाई ‘डाक वचन’ भनिने गरियो ।
अहिले भदौ दोस्रो साता चल्दै गर्दा महोत्तरीका किसान उनै ‘डाक’ का ‘वचन’ सम्झेर थोरै सन्तोषको अनुभूति लिँदैछन् । बर्खाकालका असार, साउन र भदौ पहिलो साता बितुञ्जेल सन्तुलित वर्षाको कुनै लक्षण नदेखिएको भङ्गाहा–४ का ८० वर्षीय किसान रामनन्दन महतो बताउनुहुन्छ ।
“बाबु, हामी २५/३० वर्षको उमेर छँदा बाबु/बाजे हावाको गति र लक्षणले नै पानी पर्ने नपर्ने लख काटेर खेतीपातीबारे निर्णय लिनुहुन्थ्यो ।” महतो भन्नुहुन्छ, “साउन मध्यताका दिउँसो पश्चिम दिशाबाट चिसो हावा चलेपछि राति पक्कै पानी पथ्र्यो, ती लक्षण अब मेल चैँ खै किन हो खाँदैनन् ।” बाबु/बाजेले ‘डाकवचन’ का उक्ति भन्दै मौसमबारे गर्नुहुने अड्कल जस्ताको त्यस्तै हुने गरेको महतोको पूर्वस्मृति छ ।
‘डाकवचन’ कै उक्ति सम्झदा यसपालि पानी पर्नुपर्ने असार, साउन र भदौ पहिलो सातासम्म हावाको कुनै लक्षण नदेखाएको महतो सम्झनुहुन्छ । ‘डाक’ ले साउनमा पश्चिम र भदौमा पूर्व दिशाबाट हावा चलेर आकाशमा कालो बादल मडारिएपछि धानबाली रोप्न र हुर्कन सन्तुलित वर्षा हुने आफ्नो भविष्यवाणिमा बताएका महतो सम्झनुहुन्छ । धानबाली राम्रो उत्पादन हुन असोजमा इशान कोणबाट मन्द हावा चल्नुपर्ने ‘डाक’को मत छ । यस्तो हावाले असोजमा धानलाई जति पानी चाहिने हो त्यतिमात्र पर्ने महतोले माथिको ‘डाकवचन’ का हरफ सम्झँदै बताउनुभयो ।
‘डाक’ले साउनमा बहने प्रतिकूल हावाबारे भविष्यवाणि गर्दै किसानलाई फरक सुझाव पनि दिएका महतो सम्झनुहुन्छ । ‘सावन मासे बहे पूर्वैया, बेचलो बैल किनलो गैया’ (साउनमा पूर्व दिशाबाट तातो हावा चले खेती गर्न पालेको गोरु बेचेर गाई किन) ‘डाकवचन’ को अर्को उक्ति सम्झँदै महतोले भन्नुभयो, “डाकले साउनमा पूर्व दिशाको तातो हावा चले पानी नपर्ने उल्लेख गरेका छन्, त्यसैले यस्तो लक्षण देखिए गोरु बेचेर गाई किन्न किसानलाई उनको सल्लाह छ ।” पानी नपर्दा साउनमा गोरुको काम नपर्ने हुँदा अनाहकमा गोरु पाल्नुभन्दा त्यो बेचेर गाई किने कमसेकम गोरस मुखमा पर्ने ‘डाक’ ले सो उक्तिमा किसानलाई सम्झाएका महतोले अर्थ खुलाउँदै बताउनुभयो ।
महतोजस्तै उहाँका छिमेकी ८२ वर्षीय विहारी अन्सारी पनि विगतमा खेतीपाती र मौसमको लक्षणका कुरामा ‘डाक वचन’ सम्झने गरिएको बताउनुहुन्छ । यसपालि बितेका बर्खाकालभरि ‘डाक वचन’ अनुसार सन्तुलित वर्षा हुन हावाको लक्षण महसुस गर्न नपाइएको अन्सारीको भनाइ छ । “बल्ल भदौ दोस्रो साता सन्तुलित वर्षाको लक्षण बुम्झिँदैछ”, शनिबार दिउँसोदेखि फेरिएको हावाको लक्षणबारे अन्सारी भन्नुहुन्छ, “शनिबार दिउँसोदेखि पूर्व दिशाबाट चिसो हावा चलेसँगै कालो बादल देखियो, यसैको प्रभावले शनिबार साँझ पानी प¥यो ।” आज आइतबार पनि बिहानैदेखि पूर्व दिशाको चिसो हावा निरन्तर चलिरहेको हुँदा अझै पानी थपिने अन्सारीको विश्वास छ ।
महतो र अन्सारीमात्र नभएर मधेसका प्राचीन मिथिला क्षेत्रमा ५० वर्ष कटेका किसान अझै ‘डाक वचन’ सम्झन्छन् । नयाँ पुस्ता भने ‘डाक’ र ‘डाक वचन’ बारे बेखबर देखिन्छन् । पछिल्ला कालमा मौसम विज्ञान र कृषि ज्ञानसम्बन्धी सैद्धान्तिक अध्ययनको परम्परा बसेपछि ‘डाक’ सम्झनाबाट ओझेलिँदै गएका जलेश्वर–६ बखरीका बासिन्दा पूर्वप्रशासक तथा साहित्यकार महेश्वर रायको धारणा छ । “अब त ‘डाक वचन’ भन्ने, सम्झने मान्छे भेटिनै छाडिए”, ८३ वर्षीय राय भन्नुहुन्छ, “अनि विश्वव्यापी जलवायु परिवर्तनको असरले हावा, घाम, ताप र चिसोका लक्षणले ‘डाक वचन’ का कुरा पनि मिल्न छाडे ।” यद्यपि सामान्य अवस्थामा देखिने हावाको लक्षणबाट ‘डाक वचन’ का उक्तिको सन्दर्भ नै भने नसकिएको रायको भनाइ छ ।
अहिले भदौ दोस्रो साता बित्नै लाग्दा महसुस गरिएको वा देखिने हावाको गतिले त्यही ‘डाक वचन’ सम्झेर तै धान फली हाल्छ कि भन्ने बुढो पुस्ताका किसानले आश सँगालेका छन् । पानी नै नभएर अपेक्षित धान रोपाइँ गर्न, गोडमेल गर्न नपाएको चिन्तामा पिरोलिएका पाका किसानलाई पछिल्लो हावाको गति र लक्षण आशाको त्यान्द्रो बनेको छ । “बितेका दिन त बितिहाले, अझै पनि सन्तुलित वर्षा भए धानखेतको धजा मेटिएर रोपो हलक्क बढ्ने आश मरेको छैन”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ८५ वर्षीय किसान जुगेश्वर ठाकुर भन्नुहुन्छ, “बाबु, अहिले ‘डाक’ ले भनेजस्तै सन्तुलित वर्षा हुने हावा चल्दैछ, अझै पानी ठिक पर्दिए केहीनकेही धान भित्रिन्छ ।”
मौसमको प्रतिकूलताले र समयमा बीउ, मल नपाएर इच्छित खेती गर्न नपाएका किसानलाई अहिलेको ‘पूर्वीया’ हावा मृत इच्छा ब्युँताउने बुटीजस्तै भएको छ । अब पनि ठिकठिक बेला पानी परे धान राम्ररी पोटाउने र उत्पादन पनि ठिकठिकै लिन सकिने किसानको आश छ । पछिल्लो पुस्तामा ‘डाक’ बारे कुनै वास्ता र चासो नदेखिनु साहित्यकै दृष्टिले पनि उचित नहुने पाका साहित्यकारको मत छ । अब अहिलेको बुढो पुस्ता सकिँदै गएपछि ‘डाक’ भन्ने सुन्दै नसुनेको पुस्ता आउने देखिएको प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ । त्यसैले हाल मुलुकमा रहेका विश्वविद्यालयहरुले ‘डाक’ र ‘डाक वचन’ खोजी गरेर सङ्ग्रह गर्न र सोबारे अध्ययन÷अनुसन्धान गर्न÷गराउन पर्ने डा विमलको सुझाव छ ।
Discussion about this post