काठमाडौं । गत स्थानीय निर्वाचनपछि देशभर स्वतन्त्र तथा युवा उम्मेदवारको देशका लागि आवश्यकता औंल्याउन थालिएको छ ।
वर्षौंदेखि एउटै अनुहारका व्यक्तिको शासनबाट जनता वाक्कदिक्क मान्न थालेका छन् । अस्थिर राजनीति र राजनीतिक संरक्षणमा भ्रष्टाचार, कमिसन खोरको चरम अवस्थाले स्वतन्त्र व्यक्तिको नेतृत्व जनताले चाहेको काठमाडौं महानगरमा बालेन साहको शानदार जितले पुष्टि गरेको छ ।
गत स्थानीय निर्वाचनमा बालेनजस्ता स्वतन्त्र उम्मेदवारलाई जनताले रुचाएसँगै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी पर्ने देखिएको छ ।
काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् इन्जिनियर किरण केसीले । बालाजु घर भई करिब चार वर्षदेखि अष्ट्रेलियामा रहेका उनले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–७ बाट उम्मेदवारी दिने तयारी गरेका हुन् ।
देश विकासका लागि अहोरात्र खटिन सक्ने युवालाई निर्वाचित गरिनुपर्ने बताउने उनले स्वतन्त्र उम्मेदवारले कुनै दलको निर्देशन पालना र आफ्ना कार्यकर्ता तथा आसेपासेलाई रिझाउनुपर्ने अवस्था नहुने हुँदा उसले देश र जनताका लागि समर्पित भएर काम गर्न सक्ने बताए । यसका लागि आफूले उम्मेदवारी दिने तयारी गरेको केसीको भनाइ छ ।
आउँदो मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ । विकसित मुलुकले गरेको आर्थिक उन्नति र समृद्धि तथा जनतालाई सुविधा सम्पन्न बनाएको आफूले नजिकबाट नियालेको बताएका इन्जिनियर किरण केसीले सामाजिक, धार्मिक, सांस्कृतिक, भौगोलिक सद्भाव कायम राख्दै समग्र देशकै समृद्धिको एजेण्डा आफूसँग रहेको जानकारी दिए ।
‘मलाई अवसर दिनुस्, म गरेर देखाउँछु’ भन्ने स्लोगन लिएर जनतामाझ जान लागेका उनले देश र जनताको विकास र समृद्धिका लागि अष्ट्रेलिया छाड्न तयार रहेको बताए । अध्ययनका लागि विदेश रहँदा नजिकबाट चुस्तदुरुस्त प्रशासनिक संयन्त्र र विकासका मोडालिटी र कार्यशैली नियाल्न र सिक्न पाएको बताएका उनले विदेश रहँदा आर्जन गरेको शिक्षा, सिप र ज्ञानलाई अब देशकै समृद्धिमा खर्चिने बताए ।
विरासतको राजनीति गर्नेले सधैं देशलाई पछि पारेको बताउँदै उनी भन्छन्, ‘विरासत नाममा नमरुन्जेल राजनीति गर्ने परम्परा गलत हो । पाका राजनीतिज्ञलाई नयाँ सोच स्वीकार्न गाह्रो भएको छ । तर, विश्व द्रुत गतिमा अघि बढिरहेको छ ।
यस कारण युवा नेतृत्वको आवश्यक छ । यही बुझेर मैले उम्मेदवारी दिन खोजेको हुँ ।’
युवामा विश्व हाक्ने क्षमता हुने भन्दै उनले ज्ञान, सिप, सूचना, लगनशीलता र प्रविधिको सदुपयोग भरपुर युवाले प्रयोग गर्न सक्ने भएकाले आफ्नो उम्मेदवारी काठमाडौं–७ बाट पर्ने र सो क्षेत्रका मतदातालाई मत दिन आग्रह पनि गरे ।
Discussion about this post