काठमाडौं : नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा दायर भएका पाँचवटा रिटको सुनुवाइ आइतबारका लागि सरेको छ । आजका लागि पेसी तोकिए पनि ती रिटहरु हेर्न नभ्याइने सूचीमा परेपछि आइतबार सुनुवाई हुने भएको हो ।
राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रोपटक शीतल निवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको भन्दै बिहीबार अधिवक्ता सुनिल रञ्जन सिंह, सागर बराल लगायतका पाँच जनाले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार शनिबारर सार्वजनिक बिदा भएकाले उक्त रिटमाथिको सुनुवाइ आइतबारका लागि सरेको हो ।
राष्ट्रपति कार्यालयले दोस्रोपटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन, २०६३ को संसोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शीतलनिवास विरुद्ध कानुन व्यवसायीहरुको पाँचवटा रिट परेको थियो । सो रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वर्खिलाप भएको उल्लेख गरिएको छ ।
शुक्रबारका लागि नै सभामुख र उपसभामुख विरुद्धको रिट पनि पेसीमा चढेको भएपनि ती रिटमाथि पनि आइतबार मात्रै सुनुवाइ हुने भएको छ । सभामुख र उपसभामुखले पाउने सम्पूर्ण सेवा सुविधा संसदको कार्यकाल सकिएलगत्तै सकिनुपर्ने भन्दै अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई लगायतले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
Discussion about this post