जनकपुरधाम । सामाजिक सञ्जाल हाम्रो दैनिकीको अभिन्न हिस्सा बनेको छ । विशेषगरी हामीले व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गरिरहेका हुन्छौँ । त्यसबाहेक कतिपयले व्यावसायिक प्रयोजनका लागि प्रयोग गरेका हुन्छन् ।

विशेषगरी आफ्ना कुनै पनि उत्पादन वा प्रचार गर्नुपर्ने सामग्रीलाई सामाजिक सञ्जालका माध्यमबाट धेरैमाझ पुर्‍याउन सकिन्छ । चुनावको समयमा विशेषगरी सामाजिक सञ्जालबाट बुस्ट गर्ने प्रचलन बढी छ । सामाजिक सञ्जालमा पनि फेसबुक र टिकटकमार्फत प्रचार गर्दा उक्त पोस्ट धेरै प्रयोगकर्तामाझ पुग्ने गर्छ ।

आज हामीले यस लेखमार्फत विशेषगरी चुनावमा सामाजिक सञ्जालको पोस्ट कसरी बुस्ट (प्रचार) गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ । निर्वाचन कुनै पनि निश्चित क्षेत्र वा भूगोललाई केन्द्रित गरी सम्पन्न हुने प्रक्रिया हो । नेपालमा पनि मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ । त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भइसकेको छ । त्यस्तै सबैजसो उम्मेदवारले चुनाव चिह्न पनि पाइसकेका छन् ।

यस्तो निर्वाचनमा उम्मेदवारले सम्बन्धित जिल्लाको सम्बन्धित क्षेत्रबाट उम्मेदवारी दर्ता गराएको हुन्छ । आफूले दर्ता गराएको क्षेत्रबाट उसले पाएको मतको आधारमा ऊ विजेता हुने नहुने कुराको निर्धारण हुन्छ । यस्तो अवस्थामा निश्चित क्षेत्रका जनतालाई केन्द्रित गरी प्रचार गर्नुपर्ने हुन्छ । त्यसैले आसन्न निर्वाचनका लागि प्रचारको सबैभन्दा उपयुक्त विकल्प फेसबुक पोस्ट हुन्छ ।

फेसबुकमार्फत पोस्ट बुस्ट गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

सबैभन्दा पहिले फेसबुक पेज खोल्नुहोस् । व्यक्तिगत फेसबुक आईडीमा यो विशेषता नहुने भएकाले पेज नै खोल्नुपर्ने हुन्छ ।)

त्यसपछि आफूलाई उपयुक्त हुने पोस्ट तयार पार्नुहोस् । (व्यवसायका उत्पादन, चुनाव प्रचार सामाग्री सम्बन्धी पोस्ट)

त्यसपछि उक्त पेजबाट उक्त प्रचार गर्नुपर्ने कन्टेन्ट अपलोड गर्नुहोस् ।

आफ्नो फेसबुक पेजमा जानुहोस् ।

आफूले बुस्ट गर्न चाहेको पोस्टको तल रहेको बुस्ट पोस्ट (Boost Post) अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसपछि उक्त साइटमा स्पेसल एड क्याटेगोरीमा गएर उक्त पोस्ट कुन क्याटेगोरीमा पर्छ भन्ने कुरा छान्नुपर्ने हुन्छ ।

त्यसपछि कुन अडियन्सलाई केन्द्रित गरिएको छ भन्ने कुरा छान्नुपर्ने हुन्छ । चुनाव प्रचारका लागि बुस्ट गर्दा (क्रियट न्यु)मा जानुहोस् । त्यहाँ गएर कुन क्षेत्रका वा कुन वर्गका अडियन्सलाई केन्द्रित गरिएको हो भन्ने छान्नुपर्ने हुन्छ ।

त्यसपछि उक्त पोस्ट कति दिन सम्मका लागि राख्ने हो भन्ने कुरा छान्नुपर्ने हुन्छ ।

त्यसपछि अर्को सेक्सनमा कति डलर खर्च गर्दा कति अडियन्समा पुग्छ भन्ने कुराको मापन गरिएको हुन्छ ।

त्यहाँ आफूलाई उपयुक्त हुने प्याकेज छान्नुहोस् ।

त्यसपछि एड पेमेन्ट मेथड (Add Payment Method) मा ट्याप गर्नुहोस् ।

(नेपालमा डलर कार्डबाट यस्ता पोस्ट बुस्ट गर्न सकिन्छ । डलर कार्ड विभिन्न बैंकले आफ्ना ग्राहकलाई उपलब्ध गराइरहेका हुन्छन् । नेपालमा पेपाल आधिकारिक रूपमा उपलब्ध नभएकाले डलर कार्डबाट पोस्ट बुस्ट गर्दा उपयुक्त हुन्छ ।)

त्यसपछि अर्को सेक्सनमा एड पेमेन्ट मेथडमा रहेको डेबिट अर क्रेडिट कार्डको विकल्प छान्नुहोस् ।

त्यसपछि तल रहेको नेक्स्टको अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसपछि कार्ड डिटेलको सेक्सन खुल्छ । त्यहाँ गएर कार्डमा भएको नाम राख्नुहोस् ।

त्यसको तल कार्ड नम्बर राख्नुहोस् ।

त्यस्तै तल रहेको अप्सनमा कार्डमा रहेको एमएम/वाईवाई (MM/YY) र सीभीभी (CVV) नम्बर राख्नुहोस् ।

त्यसपछि सेभ लेखेको अप्सनमा क्लिक गरेर उक्त विवरण सेभ गर्नुहोस् ।

त्यसपछि पेज स्क्रोल गर्दै तल जानुहोस् । जहाँ कति अडियन्ससम्म पोस्ट पुर्‍याउने, कति खर्च लाग्छ भन्ने कुरा उल्लेख गरिएको हुन्छ ।त्यसपछि अन्तिममा रहेको बुस्ट पोस्ट नाउ (Boost Post Now) को अप्सनमा क्लिक गर्नुभयो भने उक्त पोस्ट बुस्ट हुन्छ ।

याद गर्नुहोस् पोस्ट बुस्ट भइसकेपछि डलर कार्डबाट पैसा काटिनेछ । यस्ता पोस्ट बुस्ट गर्दा भरपर्दो पेज वा नयाँ बनाइएको पोस्टबाट बुस्ट गर्नुपर्ने हुन्छ ।