जनकपुरधाम । मधेश प्रदेश सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल वितरण पछिल्लो दुईदेखि अलपत्र परेको छ ।

साइकल खरिद प्रक्रियामा अनियमितता भएको भन्दै २०७८ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापामारी गरेपछि सो कार्यक्रम अलपत्रमा रहेको छ ।

आर्थिक वर्ष ०७५/०७६ र ०७७/०७८ मा दुई पटक भएको साइकल खरिदमा अनियमितता भएको घटना सार्वजनिक भएपछि अख्तियारले छापामारी गरेको थियो ।

अख्तियारले साइकल खरिदमा अनियमितता भएको भन्दै तत्कालीन सचिव यमप्रसाद भुषाल, खेलापाल राजाराम मण्डल, कानून उपसचिव दिलीप प्रधान, तत्कालीन जलश्रोत विकास डिभिजन कार्यालयका प्रमुख भागवान झा सहित कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त मुद्दा अहिले विशेष अदालतमा विचाराधीन नै रहेको छ ।

यता,साइकल खरिदमा अनियमितता भएको भन्दै अख्तियारले मुद्दा चलाएपछि सो कार्यक्रम मुख्यमन्त्री लालबाबु राउतले गत आर्थिक वर्षदेखि नै सामाजिक विकास मन्त्रालयमा सारेका छन् ।

तर सामाजिक विकास मन्त्रालयले उक्त कार्यक्रम संचालन गर्ने जिम्मेवारी शिक्षा विकास निर्देशनालयलाई दिएको छ । गत वर्ष पनि सो कार्यक्रमका लागि प्रदेश सरकारले ३० करोड रकम विनियोजन गरेको थियो । तर कार्यक्रमको निर्देशिका तयार नहुदाँ त्यो कार्यक्रम संचालन हुन नसेको शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणि फुयालले बताए ।

चालु आर्थिक वर्षमा पनि सो कार्यक्रमको लागि प्रदेश सरकारले ३० करोड रकम विनियोजन गरेको छ । तर कार्यक्रमको निर्देशिका अहिले सम्म नबनेकोले चालु आ.व.मा पनि कार्यक्रम संचालन हुनेमा सम्भावना कम देखिएको छ ।

निर्देशक चुडामणि फुयालले भने,‘ अहिलेसम्म त्यो मुद्दाको अदालतमै छ, अहिलेसम्म अदालतबाट कुनै आदेश आएको छैन । यस्तोमा त्यो कार्यक्रमलाई कसरी अगाडि बढाउने अहिलेसम्म कुनै निणर्य हुन सकेको छैन ।’

त्यो कार्यक्रम संचालन गर्ने विषयमा अहिलेसम्म प्रदेश सरकारले कुनै निणर्य नलिएको बताउँदै चुडामणि फुयालले भने,‘ हाम्रो दायित्वको त्यो कार्यक्रम आएपछि नयाँ शिराबाट संचालन गरिने हो । त्यसका लागि निर्देशिका आवश्यक पर्छ । तर अहिलेसम्म निर्देशिकाको विषयमा कुनै तयारी भएको छैन ।

स्थानीय तह र अहिले भइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले पनि त्यो कार्यक्रमको वारेमा अहिलेसम्म कुनै निणर्य हुन सकेको छैन ।’ नयाँ सरकार आएपछि त्यसको निणर्यको आधारमा मात्रै कार्यक्रमलाई अगाडि बढाउने मनसायमा आफू रहेको निर्देशक फुयालले बताए ।

मधेश प्रदेश सरकारले बेटीहरुलाई पठनपाठनमा जोड दिन तथा महिला सशक्तिकरणमा जोड दिने उद्देश्यले कक्षा ८ मा पढ्ने छात्राहरुका लागि साइकल वितरण कार्यक्रम संचालनमा ल्याएको थियो । सो कार्यक्रम अन्तर्गत विभिन्न चार चरणमा सामुदायिक विद्यालयमा पढ्ने ४१ हजार २ सय ६२ थान साइकल वितरण भइसकेको छ ।