जनकपुरधाम । त्रेता युगमा सीता र रामबीच भएको बिवाहको स्मरण गर्दै प्रत्येक वर्ष मनाइने बिवाह पञ्चमी महोत्सवको तयारी तीव्र रूपमा भइरहेको छ ।
त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच भएको बिवाहको स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने बिवाह पञ्चमी महोत्सवको तयारी सुरु भएको छ ।
यही मंसिर ७ गतेदेखि १३ गतेसम्म सप्ताहव्यापी विधिवत् धूमधामका साथ मनाइने बिवाह पञ्चमी महोत्सवको तयारी भव्य रुपमा मनाउने उद्देश्यका साथ तीव्र रूपले तयारी भइरहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवले बताए ।
विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन मंसिर ७ गते नगर दर्शन, दोस्रो दिन ८ गते फूलबारी लीला, ९ गते धनुष यज्ञ, १० गते चौथो दिन तीलकोत्सव, ११ गते मटकोर र १२ गते राम सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ र सप्ताहव्यापी बिवाह महोत्सवको अन्तिम दिन १३ गते रामकलेवा गरी जन्ती बिदाइ गरेपछि बिवाह पञ्चमी महोत्सव विधिवत् सम्पन्न हुने सहायक महन्थ दासले बताए ।
यसै गरी विवाह पञ्चमी महोत्सवमा यस पटक भारत उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज सहभागी हुने समेत जानकारी उनले दिए ।
प्रमुख अतिथिको रूपमा भारतबाट रामको डोलासहित भारत उत्तराखण्ड सरकारका पर्यटन मन्त्री सतपादजी ११ र १२ गतेको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आउने सहायक महन्थ दासले बताएका छन् । सतपाल महराज लगायत अयोध्याबाट हजारौँ साधु सन्त जन्तीको रूपमा यस वर्ष पनि सहभागी हुने जनाइएको छ ।
यसै गरी जनकपुरधाम उपमहानगरपालिका र बृहत्त्र जनकपुर क्षेत्र विकास परिषद्ले संयुक्त रूपमा बिवाह पञ्चमी लक्षित जनकपुरधामस्थित रंगभूमि मैदान (बाह्र बिघा) सरसफाइ कार्यलाई समेत तीव्र रूपले अघि बढाएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए ।
यसपालि बिवाह पञ्चमी महोत्सवमा जनकपुरधाम आउने श्रद्धालुहरू बस्नका पण्डालको व्यवस्था गरिने उनले बताएका छन् ।
साथै डाक्टरसहितको विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन र एम्बुलेन्स सेवाको समेत व्यवस्था गरिने छ ।
विवाहपञ्चमीलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले जानकी मन्दिर परिसर सरसफाइका लागि छुट्टै ट्याक्टरको व्यवस्था गरिएको छ ।
Discussion about this post