जनकपुरधाम । धनुषाको जनकपुरधाम-२१ कुर्थाका अमित साह आफ्नाे २६ वर्षीया पत्नी रिंकु साहको गर्भमा जुम्ल्याहा बच्चा रहेको जानकारी पाएसँगै सुरुदेखि नै सचेत थिए ।
रिंकुको सुत्केरीका बेला अपरेशन गरेर नै बच्चा निकाल्नुपर्छ भन्ने कुराको जानकारी पनि उनले चिकित्सकबाट पाइसकेका थिए ।
त्यसैले अमित सुरुदेखि नै सरकारी अस्पतालमा नगइ महिनैपिच्छे काव्या अस्पतालकी डा.सोनिया सिंहसंग रिंकुको फलोअप जाँच गराउँदै आएका थिए ।
गत २५ मंसिरमा पनि रिंकुको स्वास्थ्यमा समस्या देखिँदा अमितले उनलाई सोनिया सिंहसँग परामर्शका लागि काव्या अस्पतालमा ल्याए ।
त्यसबेला डा.सिंहले औषधि दिँदा रिंकुलाई सन्चो भएको थियो । अमित र रिंकु जुम्ल्याहा बच्चा पाउने भन्दै हर्षित भएका थिए ।
आइतबार रिंकुलाई सुत्केरी बेथा लागेपछि उनलाई बिहान करिब १० बजे काव्या अस्पताल लगियो ।
उनलाई अपरेसन गर्नुपर्छ भन्ने कुरा पहिला जानकारी अमितलाई थियो । सोही अनुरूप डा. सोनियाले दिउँसो करिब १ बजे रिंकुलाई अपरेशन रुममा लगेको जनाएकी छन् ।
उनको अपरेसन सफल भइ करिब साढे १ बजे जुम्ल्याहा बच्चाको जन्म भयो । अपरेसनपछि डा.सिंहले पनि अब सबै ठीक रहेको कुरा अमितलाई सुनाइन् । त्यसपछि खुशी झन् दोब्बर भएको महसुस गरे अमित ।
उनी खुशी हुँदै अस्पतालकी स्विपरसमेतलाई पैशा बाँडेका थिए । उनका परिवारका अधिकांश सदस्य अस्पतालमै थिए । अमितको परिवारमा खुशीको सीमा थिएन ।
त्यतिकैमा उनीहरूको खुशीकै बीच एउटा दुःखद खबर आयो । अस्पतालले रिंकुलाई अपरेसनपछि अत्यधिक रक्तश्राव भइरहेकोले तुरुन्त रगतको व्यवस्था गर्न अमितलाई सुझायो ।
उनी पनि हतपत रगतको व्यवस्थामा जुटे । केहीबेरमै उनले चारपोका रगत अस्पताललाई उपलब्ध गराएका थिए । त्यतिबेलासम्म बिरामीसँग उनको परिवारका कुनै पनि सदस्यले भेटघाट गर्न पाएनन् ।
रगत उपलब्ध गराएको केहीबेरमै फेरि अमितलाई बोलाएर डा.सिंहले रिंकुको रक्तश्राव अझै नरोकिएकाले पाठेघर नै हटाउनुपर्ने सुझाव दिइन् । अमितले पनि अब दुईवटा बच्चा भइसकेकोले पाठेघर हटाउँदा केही फरक नपर्ने भन्दै पाठेघर हटाउने अनुमतिसमेत दिए ।
डा. सोनियाले रिंकुको पाठेघर हटाएर उनलाई एनआइसियूमा सिफ्ट गरिन् । त्यसपछि अमितलाई बिरामीसँग भेट्ने अनुमति दिँदै उनी आफ्नो घर गइन् ।
अमितले रिंकुसँग भेट्न जाँदा उनलाई बिरामीको अवस्था खराब रहेको र उनी एनआइसियूमा रहेकोले भेट्न नपाउने भन्दै अस्पतालका कर्मचारीले प्रवेश नै गर्न दिएनन् । अमितको मनमा शंका भयो ।
डा. विरामीसँग भेट्ने अनुमति दिए पनि अस्पतालका अन्य कर्मचारीले भेट्न नै नपाउने बताए तर,अमितले आफ्नो पत्नीको अवस्था कस्तो त्यो कुरा स्पष्ट थाहा पाउन अस्पताललाई दबाब दिएका थिए ।
त्यसको केहीबेरपछि अस्पतालका एक चिकित्सकले अमितलाई क्याबिनमा बोलाएर रिंकुको मृत्यु भइसकेको कुरा जानकारी गराए ।
अमित छाँगाबाट खसेझैं भए । उनका एकछिन अघिका सबै खुशी दुःखमा परिणत भएको जनाएका छन् ।
अमितलाई चिकित्सकको कुरामाथि विश्वास नै लागेन । उनले अस्पतालको लापरबाहीले आफ्m्नो पत्नीको ज्यान गएको दाबी गरिरहेका थिए ।
डा. सिंहले अपरेसनकै बेला कुनै ठूलो गल्ती गरेर रिंकुलाई मारेको हुनसक्ने अमितले आरोप लगाएका छन्। तर, उनको कुरा सुन्ने त्यहाँ कोही थिएनन् ।
रिंकुले डा.सिंहसँग नियमित गर्भ परीक्षण गर्दै आएकी थिइन् । चिकित्सककै सल्लाह बमोजिम आइतबार अस्पतालमा भर्ना भएको अमितले बताएका छन् । यसबीचमा पनि रिंकु चिकित्सक सिंहसँग नियमित सम्पर्कमा रहेको उनले बताए ।
मृतकका आफन्तले पनि अस्पताल भर्ना भएपछि बच्चालाई जन्मदिएको धेरै बेरपछि आमाको मृत्यु हुनुमा अस्पतालको गम्भीर लापरबाही भएको आरोप लगाएका छन् ।
रिंकु करिब आठ वर्षअघि डा.सिंहसँगै जनकपुरकै धनुषा अस्पतालमा कार्यरत थिइन् । यता, अस्पतालले महिलामा अचानक श्वासप्रश्वासमा समस्या देखिएको र अपरेसन गरेर बच्चा निकालेपछि उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ ।
मृतकका आफन्तले अस्पतालमा केही बेर प्रदर्शनसमेत गरेका छन् । तर, अस्पतालले रामानन्द चोकका प्रकाश मिश्रको नेतृत्वमा १०/१५ जनालाई बोलाएर परिवारजनमाथि नै हातपात गर्न लगाएको पीडित पक्षको आरोप छ ।
मिश्रले अस्पतालमा रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मी अमरेश मल्लिकसहितकाको गुण्डागर्दी शैलीमा क्यामेरा बन्द गराउन लगाएर सबैलाई अस्पताल परिसरबाट बाहिर भगाएका थिए । मिश्रले सो क्रममा आफूसँग दुर्व्यवहारसमेत गरेको सञ्चारकर्मी मल्लिकले बताए ।
Discussion about this post