जनकपुरधाम । एन्टिरेट्रोभाइरल उपचार (एआरटी) केन्द्र प्रादेशिक अस्पताल जनकपुरधाममा नियमित औषधि सेवन गर्ने एचआइभी संक्रमितको संख्यामा वृद्धि भएको पाइएको छ ।
एड्स हेल्थकेयर फाउण्डेशनका कार्यक्रम संयोजक विमल कुमार साहका अनुसार केन्द्रमा आर्थिक वर्ष ०७९÷०८० हालसम्म ६ सय ६३ जना संक्रमितले नियमित औषधि सेवन गर्दै आएका छन् ।
गत आर्थिक वर्ष ०७८÷०७९ मा सो संख्या ६ सय ३३ रहेको थियो भने सोही वर्षको असार मसान्त सम्ममा केन्द्रमा उपचारको लागि १ हजार ३ सय १३ जना संक्रमितले दर्ता गराएका थिए ।
त्यस्तै, चालु आर्थिक वर्षको मंसिर मसान्त सम्ममा सो संख्या १ हजार ३ सय ४७ पुगेको छ । मंसिर मसान्त सम्ममा उपचारमा रहेका मध्ये १ सय ६७ जनाको मृत्यु भइसकेको केन्द्रले जनाएको छ भने उपचारका लागि दर्ता भएका मध्ये १ सय ८७ जनाले औषधि खान छाडेको बताइएको छ ।
त्यसैगरी,अहिलेसम्म केन्द्रमा नियमित औषधि सेवन गर्नेहरु मध्ये ३ सय २६ संक्रमितलाई उनको पायक पर्ने ठाँउमा स्थानान्तरण गरिएको छ ।
असुरक्षित यौन सम्पर्क गर्ने, यौनकर्मी पुरुष तथा महिला र तिनका ग्राहक, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी,आप्रवासी कामदार र कैदीबन्दीहरुमा एचआइभी संक्रमणको उच्च जोखिममा रहने गरेको बताउँदै संयोजक साहले भने,‘केन्द्रमा आएर नियमित रुपमा एचआइभीको उपचार गराउनेमा जन्मजात संक्रमित हुनेदेखि वृद्धवृद्धासम्म रहेका छन्।’
लागूऔषधमा प्रयोग गरिने सुइलगायतका कारणले एचआइभी संक्रमण हुने गरेको भए पनि महिला–पुरुषबीच हुने असुरक्षित यौनसम्पर्कका माध्यमबाट नै ७६ प्रतिशतभन्दा बढी एचआइभी संक्रमण हुने गरेको पाइएको छ । केन्द्रमा नियमित औषधि सेवन गर्नेहरु मध्ये अधिकांश असुरक्षित यौन सम्पर्कबाटै संक्रमित भएको बुझिएको छ ।
एचआइभी संक्रमण भएको आशंका लाग्नेवितिकै परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आयो भने सुरुमा संक्रमित कराउने, डराउने जस्ता क्रियाकलाप गरे पनि परामर्श दिएपछि विस्तारै आत्मबल पलाउने गरेको उनको अनुभव छ । केन्द्रबाट निःशुल्क उपलब्ध हुने चेकजाँचदेखि औषधिसम्मको सम्पूर्ण सेवा प्रवाह भइरहँदा पनि समाजमा हेपिने र घृणाको पात्र बन्ने भयका कारण अझै पनि थुप्रै संक्रमित खुलेर केन्द्रसम्म पुग्न नसकेको बताइन्छ ।
संक्रमणलगतै भाइरल लोड धेरै बढी हुन्छ तर औषधि सेवन गर्न थालेपछि शरीरले त्यसको प्रतिकार गर्न थाल्छ र तल झर्ने भएकोले आफूलाई आशंका लागेमा केन्द्रमा पुगेर चेकजाँच गराइ तत्काल उपचार गराउन सकिए एक संक्रमित होइन कतिपय व्यक्तिको जीवन जोगाउन सकिने दाबी समेत केन्द्रको छ ।
संक्रमितको नाम ठेगाना मात्र होइन पहिचानसमेत गोप्य राखेर गरिने उपचारमा सहभागी हुनु भनेको नयाँ जीवन नै पाउनु हो भने समाजमा पनि खुल्नै पर्ने बाध्यताबाट जोगिन सकिने छ । संक्रमित भएको थाहा पाएर कतिपय संक्रमितहरु डिप्रेशनमा जाने गरेको समस्यासमेत देखिएको बताइन्छ ।
विगत तीन वर्षदेखि नियमित रुपमा एआरटी औषधि सेवन गर्दै आएका एक संक्रमित भन्छन्,‘नियमित औषधि सेवन गरे एचआइभी संक्रमणलाई सजिलै जित्न सकिन्छ । मधुमेह र उच्च रक्तचापका बिरामीले पनि त जिन्दगीभरि नै औषधि खानुपर्छ तर तिनले साइड इफेक्ट गर्छन्,तर एचआइभीको औषधिले साइडइफेक्टसमेत गर्दैन त्यसैले शंका लाग्नेवितिक्कै चेकजाँच गराइ हाल्नुपर्छ ।’
एचआइभीको संक्रमणको औषधि नियमित खायौँ भने संक्रमणलाई रोकथाम गरेर सामान्य व्यक्ति जस्तै जीवनयापन गर्न सकिने र औषधि खान थालेपछि संक्रमणको पीडाले हुने डिप्रेसन जस्ता समस्याबाट पनि सजिलै निदान पाउन सकिने छ ।
नियमित एआरटी औषधि सेवनले एचआइभी तथा एड्स नियन्त्रण गर्न सकिन्छ, तर अहिलेसम्म निको पार्ने औषधि उपलब्ध छैन,’ एचआइभी संक्रमितकै लागि काम गर्ने संस्था स्पर्श नेपाल आवद्ध स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
संक्रमितले जीवनभरि यो औषधि नियमितरुपमा सेवन गर्नाले क्षयरोग, निमोनिया, झाडापखाला जस्ता रोगबाट बच्न सकिन्छ । प्रादेशिक अस्पताल जनकपुरधाममा सञ्चालित केन्द्रलाई स्पर्श नेपाल र एड्स हेल्थकेयर फाउण्डेशनले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।
हाल अस्पतालका एक,तथा दुबै संस्थाबाट दुई÷दुई जना गरी पाँच जना कर्मचारीहरुले केन्द्रमा सेवा दिँदै आएका छन् । केन्द्रमा उपचारको लागि दर्ता हुनेवितिक्कै एचआइभीको जाँचदेखि छाती,किड्नी,लिभर,बेसलाइन लगायतका सम्पूर्ण जाँच निःशुल्कमै उपलब्ध हुने गरेकोले एचआइभीका संक्रमितले केन्द्रमा आएरै उपचार गराउन सके लुकिछिपि बाहिर जाँच गराउँदा ठूलो आर्थिक क्षतिबाटसमेत जोगिन सकिन्छ ।
सामान्यतया संक्रमित व्यक्ति संगको यौन सम्पर्कबाट सर्ने एचआइभी संक्रमण भएपछि मानिसमा रोगसंग लड्ने जीवाणुको कमी हुने गरेको छ । जीवाणुले रोगसंग प्रतिरोध गर्ने कोषलाई मार्ने वा कमजोर पार्ने गरेको र रोगसंग लड्ने क्षमता अति कम हुँदै गएको चरणलाई एड्स रोग भनिन्छ ।
नेपालमा पहिलो पटक सन् १९८८ मा विदेशमा काम गर्न गएका एक नेपाली कामदारमा संक्रमण देखिएको थियो । त्यसको २२ वर्षपछि सन् २०२० मा आइपुग्दा नेपालमा संक्रमित ३० हजार ३ सय रहेको अनुमान गरिएको छ । सो मध्ये १६ हजार ३ सय १४ पुरुष,१३ हजार ९ सय ८६ जना महिला, रहेको बताइएको छ ।
Discussion about this post