जनकपुरधाम । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २का रामदेव मरिक छोरोको बिहे धुमधामका साथ गर्ने योजना केही वर्ष पहिले नै बनाएका थिए ।

दुई छोराका पिता ४५ वर्षिय मरिकले घरमा जेठी बुहारीलाइ स्वागतका लागि थुप्रै सपना बुनेका थिए । मरिकले श्रीमती उर्मिला देवीसंग सल्लाह गरेर जेठो छोरोको विवाह गरि दिने योजना बनाए ।

मरिक र उर्मिलाले बुनेको योजना अनुसार बिहे गर्नु गाउँघरमा काम गरेर गुजारा चलाउने कुनै मजदुरकालागि सम्भव नरहेको थाहा थियो । तर ॠण लिएर पनि छोरोको बिहेमा कुनै कमी नराख्ने उनले ठानी सकेका थिए ।

केही ॠण गाउँमै लिए र त्यो ॠणको पैसाले पनि नपुग्ने देखेपछि दुई वटा वित्तिय संस्थाबाट गरि १ लाख थप ॠण लिए । जेठो छोरो २० वर्षिय राजकुमार मरिकको गत वैशाख १ गते सोही ॠणको पैसाले धुमधामका साथ बिहे गरे ।

छोरोको बिहे भएको र घरमा बुहारी भित्राएका मरिक र उनको श्रीमती उर्मिला औँधी खुशी थिए । तर मरिकलाइ के थाहा थियो छोरोको बिहे धुमधामका साथ गर्नका लागि लिएको ॠण नै उनको मृत्युको कारण बन्ने छ ।

छोरोको बिहे भएको १ वर्ष पनि बित्न नपाउँदै मरिक गत मंगलबार मृत अवस्थामा भेटिए । छोराको विवाह गर्दा लागेको ऋण तिर्न नसकेपछी तनावमा आएर उनले मृत्युको बाटो रोजेको स्थानीय बताउँछन ।

गत सोमबार राति खाना खाएर सुतेका उनलाई घरकै छेउमा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान स्थानीयले देखेका थिए ।

छोरोको बिहेकालागी उनले श्रीमती उर्मिलादेवीको नाममा २०७८ मंसिर १३ गते ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार र गाउंमै रहेको महुली लघुवित्त वित्तिय संस्थाबाट १५ हजार रुपैयाँ ऋण लिएका थिए । उनी जसोतसो दुबै वित्तिय संस्थाको किस्ता बुझाउँदै आइ रहेका थिए ।

अहिले ग्लोबल आइएमइको ४४ हजार ३ सय ३२ रुपैयाँ साँवा र २ सय ७१ रुपैयाँ ब्याज, महुली लघुवित्त वित्तीय संस्थाको ४ हजार ३ सय ३ रुपैयाँ तिर्न बाँकी छ । प्रत्येक महिनाको ९ गते उनलाइ किस्ता बुझाउनु पर्थ्यो ।

गत सोमबार पनि मरिकलाइ किस्ता बुझाउनु पर्ने थियो तर उनको श्रीमती उर्मिलादेवी समूहको बैठकमा त्यो दिन गइनन । समूहको बैठकमा उर्मिला नपुगेपछि संस्थाका कर्मचारी किस्ता लिन घरमै त्यो दिन पुगेको छोरा राजकुमारले बताए ।

तर मरिकसंग पैसा नभएकोले आफू घरमा नरहेको सुनाइ दिन भने । तर कर्मचारीहरुले मानेनन र मंगलबार जसरी पनि किस्ता बुझाइ दिन चेतावनी नै दिएको उनको छोरोले बताए ।

कर्मचारीहरु घरबाट गए लगत्तै उनी किस्ता बुझाउनका लागि ॠणको खोजी गरेको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए । तर मरिकले त्यो दिन ॠण खोज्न सकेनन ।

वित्तिय संस्थाबाट लिएको ॠणको पैसा चुक्ता गर्न नसकेको तनावकै कारण उन्ले आत्महत्या गरेको हुन सक्ने पालिका अध्यक्ष चौधरीले आशंका व्यक्त गरे । यद्यपि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।