मिथिला माध्यमिकी परिक्रमा मटिहानी आइपुगेको छ । जनकपुरको हनुमानगढीबाट सुरु भएको परिक्रमा आज भारतको कल्याणेश्वर, गिरिजास्थान हुँदै मटिहानी आइपुगेको हो ।
मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी दिपक पहाडी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, सुरक्षा निकायका प्रमुखहरु तथा विभिन्न विशिष्ट व्यक्तिहरुका साथै मटिहानीवासीले मिथिला विहारी र किशोरीजीको डोलासँगै सम्पुर्ण परिक्रमायात्रीलाई स्वागत गरेका छन् । परिक्रमा स्थल अहिले परिक्रमायात्री तथा परिक्रमा हेर्न आउनेहरुले भरिभराउ छ ।
स्थानीय निकाय, बृहत जनकपुर क्षेत्र विकास परिषद, मटिहानीस्थित लक्ष्मी नारायण मन्दिरलगायत विभिन्न सरोकारवाला निकाय तथा स्थानीयहरुको सहयोग र समन्वयमा परिक्रमा यात्रीहरुको लागि आवश्यक व्यवस्थापन भइरहेको छ ।
रामसीता मिथिलामा हुँदा विहार (भ्रमण) गरेका देवस्थलहरु, राजा जनकको राज्यका चारैकोणमा अवस्थित शिवालय, उनको कुलदेवी, माता सीताको फूलबारी (जहाँ राम र सीताको पहिलो भेट भएको मानिन्छ), रामसीताले नित्य होली खेल्ने स्थल कंचनवन, उनको विवाहमा मटकोरको लागि माटो उत्खनन भएको मटिहानीलगायतका मिथिलाधामभित्रका विभिन्न धार्मिक, पौराणिक र ऐतिहासिक स्थलहरुको परिक्रमा चलिरहेकोमा सोहि क्रममा परिक्रमा मटिहानी आइपुगेको हो ।
भगवान, महर्षि, ऋषिमुनि, साधुसन्तको तपोभूमि स्थलहरुको परिक्रमा गर्दा पुण्य र मोक्ष प्राप्ती हुने अटल विश्वासका साथ परापूर्वकालदेखि १५ दिने माध्यमिकी परिक्रमा संचालन हँुदै आएको विश्वास छ ।
यद्यपि, यसको संचालनकै विषयमा फरक फरक मत छ । केहि साधुहरु मिथिला बिहारी मन्दिरका प्रथम महन्थ लाढ्ली शरणजी महाराज नै परिक्रमाको प्रथम संचालक रहेको बताउँछन् भने केहिले जनकपुरस्थित मधुकर कुञ्ज कुटीका सन्त सियालाल शरणजी महाराज (प्रेमलताजी महाराज) परिक्रमाको प्रथम संचालक रहेको बताउँछन् । किशोरीजी डोला प्रमुख नवल किशोर शरणसमेत सियालाल शरणलाई नै परिक्रमा संचालक रहेको बताउँछन् ।
परिक्रमाको दस्तावेजहरु खोजबिन भइरहेको बृहत जनकपुरक्षेत्र विकास परिषदका अध्यक्ष शितल साहको भनाइ छ । परिक्रमाको सुरुवातकर्ताबारे समयले बताउने र अहिले परिक्रमाको अन्तराष्ट्रियकरणबारे बहस हुनुपर्ने उनी बताउँछन् ।
Discussion about this post