हिमांशु चौधरी,
जनकपुरधामलाई कुटी, कुण्ड, मठमन्दिर र सरोवरहरूको नगरी भनिए पनि गंगासागरमा जनकपुरधामको गौरवमय इतिहास लुकेको बताइन्छ। गंगासागरको उद्भव मिथिलाको उत्पत्तिसँग भएको उल्लेख विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ। गंगासागरलाई जनकपुरधामका सरोवरहरूमध्ये सबैभन्दा जेठो पनि भनिन्छ।
जनकपुरधाम : विभिन्न समस्याले उत्पन्न निसास्सिँदो अवस्थामा वातावरणीय स्वच्छता र संस्कृति रक्षा अभियानको सफलताको कुरा कल्पना मात्र हुन सक्ने विचारको स्थापित ढाँचालाई गलत सावित गराएका छन् जनकपुरधामका एक अभियानीले।
सभ्यता, संस्कृतिको प्रतीकलाई बेपर्वाह कदमको रूपमा अँगालेको परिदृश्यमा आफ्नो मस्तिष्कमा महान संकल्पको तस्बिर निर्माण गरी त्यसलाई मूर्त रूप दिनमा सफलता हासिल गर्दै उत्प्रेरणाको नयाँ अध्याय थप्न सफल छन् ती अभियानी।
पर्यावरणीय र सांस्कृतिक गतिहीनताको शिकार भएको ‘गंगासागर’मा सफाइ र गंगा आरतीको अभियान सञ्चालन गरी त्यसलाई जनकपुरधामको धार्मिक पर्यटकीय केन्द्र बनाउनमा सफलता हासिल गर्ने अभियानी हुन्, रामअशिष यादव। पत्रकार, पर्यावरण र वातावरणीय अभियानी यादव हाल प्रदेशसभा सांसद छन्।
२०७० सालमा नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभापतित्वको कार्यकाल सम्पन्न भएपछि यहाँको परिवेश, पात्र र क्रियाकलापमा आधारित परिवर्तनका सन्दर्भमा उनले ११ फागुनमा गंगासागरमा सफाइ अभियान सञ्चालन गर्ने योजनालाई विभिन्न क्षेत्रको सहयोगमा मूर्त रूप दिए। पोखरीको महत्त्वलाई ध्यानमा राखी भावी सन्ततिको सुखद् भविष्य र वातावरणीय सुरक्षा कवचका लागि संरक्षण र विकासलाई एकअर्काका पूरकका रूपमा सफाइ अभियान सञ्चालन गरी परिवर्तित परिवेशमा अनुकूल उपयोगमा ल्याए। अभियान सञ्चालनअघि मूर्ति सेलाउने, घरका फोहोर फाल्ने, वरिपरि दिसा गर्ने, लागूऔषध सेवन गर्ने क्रियाकलापले गंगासागर संक्रमित थियो।
जनकपुरधामलाई कुटी, कुण्ड, मठमन्दिर र सरोवरहरूको नगरी भनिए पनि गंगासागरमा जनकपुरधामको गौरवमय इतिहास लुकेको बताइन्छ। गंगासागरको उद्भव मिथिलाको उत्पत्तिसँग भएको उल्लेख विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ। गंगासागरलाई जनकपुरधामका सरोवरहरूमध्ये सबैभन्दा जेठो पनि भनिन्छ।
यसमा गंगा, यमुना, सरस्वती र सदासिन्धुको जल मिश्रण भएका कारण निमि, मिथि, जनक, सीताले नित्य स्नान र ब्रह्मा, विष्णु, महेश, देवऋषिले चरणामृत पान गर्ने गरेको ग्रन्थहरूमा उल्लेख छ।
सो सागरमा मृत्यु संस्कार गर्नेहरूले नुहाउने र डिलमा श्राद्ध क्रिया गर्ने चलन पनि छ। यसका साथै सांस्कृतिक, जैविक विविधता र पर्यटकीय एवं पुरातात्त्विक महत्त्व पनि छ। गंगासागरमा पोखरीको घाटमा दाहसंस्कार गरेमा मृतात्मालाई शान्ति एवं स्वर्गधाममा वास हुन्छ भन्ने जनविश्वास रहिआएको छ। वर्तमानमा गंगासागरनजिकै स्वर्गद्वारको निर्माणपछि दाहसंस्कार गंगासागरको घाटमा नभई स्वर्गद्वारमा गरिन्छ।
अभियानी यादव भन्छन्, ‘लेखनका माध्यमले सचेत गराउने प्रयास गरिए पनि सो स्थलमा कुनै परिवर्तन नआएपछि सकारात्मक सोच र सहयोगी भावना लिइ स्वच्छ, सुन्दर र आरतीको यात्रामा हरेक क्षेत्रका व्यक्तित्वलाई सहभागिताका लागि गरिएको आह्वानले सार्थकता ग्रहण गरेका कारण साँझ यो स्थलमा सबैले गाउने गर्छन्- आर्त हृदयसँ गाबी माँ हे, गंगा तिम्रो आरती …. (आर्त हृदयले गाउँदै माँ हे, गंगा तिम्रो आरती)।
अभियानीहरूद्वारा सो स्थलमा स्वच्छ र सुन्दर अभियानअन्तर्गत २५ जेठ ०७१ मा गंगा आरतीको थालनी गरिएपछि वेद, पुराण, उपनिषद्, गीताका प्रसंग जीवन्त भएको अनुभूति हुन थालेको छ।
भारतको काशीझैं हुने गरिएको गंगा आरतीअन्तर्गत धार्मिक, सांस्कृतिक र वातावरणीय दृष्टिकोण र पर्यटनको विकाससमेत गन्तव्यका रूपमा लिइएको छ।
काशीको आरतीमा गंगा मातालाई मात्र आरती गर्ने चलन छ भने गंगासागरको गंगा आरतीमा जलकी देवी गंगा र धरतीकी देवी सीताको आरती र प्रकृतिको पूजा गर्ने गरिएका कारण पनि प्रसिद्धि कमाउन सफलता प्राप्त भएको बताइन्छ।
भनिन्छ, ईश्वरले यस पृथ्वीमाथि तीर्थस्थलहरूको सृष्टि गर्दा अयोध्यालाई मस्तक र काशीलाई नाकसरह बनाएजस्तै यी दुवैको शोभा र सौन्दर्य अभिवृद्धि गर्न तिलकस्वरूप जनकपुरधामको निर्माण गरेका कारण पनि यस स्थलमा गंगा र सीताको आरती र प्रकृति पूजाले विशेष महत्त्व प्रदान गरेको छ।
काशीझैं केही विलक्षणता जनकपुरधाममा पनि पाइन्छ। काशीमा उत्तरायणी गंगा प्रवाहित छ भने यहाँ गंगासागर छ। गंगासागरमा भगवान महादेवको जटाबाट धरतीमा अवतरित भएको गंगामाता मात्र नभई तत्कालीन आर्यावर्तमा भएका अनेकौं पवित्र तीर्थहरू समेत समाहित भएको पौराणिक कथा छ। यस सागरमा स्नान गर्नाले गंगा नदीसमेत अनेकन तीर्थस्थलको पवित्र सरोवरमा स्नान गरेको पुण्यलाभ हुने मान्यता छ। समुद्रसमेत सप्ततीर्थहरूको अद्भूत सम्मिश्रण गंगासागरको उत्पत्तिबारे विभिन्न कथ्यहरू पाइन्छ। राजा निमिदेखि राजा दशरथको प्रसंग यसको उत्पत्तिको कथ्यमा छ।
यस्तै, दुवै प्राचीन नगर शास्त्रीय विद्या र ज्ञानको केन्द्र रहिआएका छन्। काशी महादेवको त्रिशुलमाथि अवस्थित छ भने यहाँ चारैतर्फबाट महादेवको प्रभामण्डलबाट संरक्षण रहेकाले पनि गंगा आरती विलक्षणताको स्वरूप ग्रहण गर्न पुगेको विश्वास पाइन्छ।
गंगा आरती पोखरी संरक्षणप्रति जागरूकतासमेत भएको र आरतीका बेला गंगासागरमा उपस्थित हुँदा साक्षात गंगाको डिलमा उपस्थितिको अनुभूति हुने गरेको छ। गंगा आरतीमा भारतका विभिन्न स्थानबाट आएका पर्यटकको सहभाागिता उल्लेखनीय हुने गरेको छ भने अमेरिका, चीन, जापान, थाइल्यान्ड, श्रीलंका, मलेसियालगायत मुलुकका पर्यटकको पनि आकर्षण देखिएको छ।
गंगासागरमा भएको सकारात्मक परिवर्तनको असर जनकपुरका अन्य पोखरीसँगै धनुषा, सिरहा, महोत्तरी र पर्सामा परेको छ। गंगासागरमा आरतीको प्रेरणाले प्रदूषित र अस्तित्वविहीन हुन पुगेको पोखरी र सम्पदाको संरक्षणका साथै सौन्दर्यकरण गर्ने स्थानीय बासिन्दाको अग्रसरताले सम्पदा संरक्षणमा आशाको लहर सञ्चार गरेको छ। गंगासागरमा सरसफाइ, आरतीजस्ता अभियानको प्रभाव महोत्तरीको मटिहानी, पर्सा र सिरहामा पनि गंगाआरतीसँगै पोखरीको सौन्दर्यकरणका लागि देखापरेको अग्रसरताले पुष्टि गरिरहेका छन्।
मानवीय संवेदना भनेकै धर्म हो र धर्म भनेको सेवा हो भन्ने मूल सूत्र आत्मगत गर्दै जनसहभागितामा आधारित अभियानलाई ‘सेभ द हिस्टोरिकल जनकपुरधाम’ नामले संस्थागत गरी ‘स्वच्छ जनकपुरधाम र सुन्दर जनकपुरधाम’ नारासहित आस्थावानद्वारा गरिएको दानबाट गंगा आरती, सफाइ र सौन्दर्यकरण गर्ने अभियानलाई निरन्तरता दिइएको बताइन्छ।
दानबाटै गंगासागरको घाटमा मार्बल लगाउने र घाट संरक्षणका कार्य र भौतिक पूर्वाधार निर्माण भइरहेको छ। दिनहुँ एक हजारभन्दा अधिक श्रद्धालु र पर्यटकको सहभागिता हुने गंगा आरतीमा पोखरी सफाइका लागि ३ जना सहयोगी र पूजाका लागि ६ जना पुजारीको व्यवस्थापन गरिएको र आरतीलगायत चरा र भौतिक संरक्षणमा महिनामा ८० देखि ९० हजार रुपैयाँ रकम खर्च हुने गरेको जनाइएको छ।
स्थानीय बासिन्दाको दिनचर्या बन्न पुगेको सो सागरमा आरतीका क्षण पोखरीमा गरिने दीप प्रज्ज्वलन पर्यटकका लागि महत्त्वपूर्ण क्षण हुने गरेको छ। आरतीमा धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा गरिने खुशीपूर्वकको अभिवादनले सेवा एउटा अनिवार्य कर्तव्य भएको तथ्यलाई परिणाममुखी बनाएको दायित्व बोध पनि गराउने गरिएको छ।
क्रियाशीलताले स्वर्गमय बनाउन सकिने अनुपम उदाहरण बनेको गंगासागरको गंगाआरती र पोखरीको संरक्षण, सौन्दर्यकरणको अभियान ‘हीरा’ कोइला फोडेर निस्कन्छ र ‘मोती’ गहिराइमा पुगेपछि मात्र भेटिन्छ भन्ने पाठ सिकाएको अभियानी यादवको ठम्याइ छ।
सन् १९९४ मा भारतमा राजीव गान्धीले थालनी गरेको गंगा सरसफाइको अभियान र नेपालको वागमती नदी सरसफाइ अभियानको पाठले आफूलाई पर्यावरणीय समस्यातर्फ ध्यानाकृष्ट गराएको अभियन्ता यादवको भनाइ छ।
नेपालका प्रथम गणतान्त्रिक राष्ट्रपति डा. रामवरण यादवदेखि विदेशी कूटनीतिज्ञ, राष्ट्रका विशिष्ट व्यक्तित्वसमेतको सहभागिता भइसकेको सो आरतीमा संरक्षण कार्यका लागि हालसम्म सरकारी सहयोग प्राप्त नभए पनि साहसको सञ्चारले अभियानीहरू गन्तव्यतिर अग्रसर हुँदै गइरहेका छन्- इएह छी हमर जनकपुर, सीताके जनकपुर, जनकक गाम जनकपुर… (यही हो हाम्रो जनकपुर, सीताको जनकपुर, जनकको गाउँ जनकपुर)।
Discussion about this post