काठमाडाैँ । सामाजिक न्याय र समावेशीताको क्षेत्रमा एउटा ऐतिहासिक उपलब्धि हासिल गर्दै सिरहा जिल्ला निवासी पुजा रामले नेपालमै पहिलो पटक चमार समुदायबाट बिए एलएलबी (B.A. LL.B.) सफलता पूर्वक सम्पन्न गरेकी छिन्। यससँगै उनी नेपालको चमार समुदायकी पहिलो महिला वकिल बन्ने यात्रामा अगाडि बढेकी छिन्।

पुजा रामको यो सफलता न केवल उनको व्यक्तिगत संघर्ष र समर्पणको प्रतिफल हो, तर सम्पूर्ण दलित समुदाय, विशेष गरी चमार समुदायका लागि प्रेरणाको स्रोत बन्न पुगेको छ। उनले धेरै चुनौतीहरू पार गर्दै उच्च शिक्षाको यो स्तर हासिल गर्न सफल भएकी हुन्।

पुजा रामले अध्ययनको क्रममा सामाजिक र आर्थिक कठिनाइहरूको सामना गरेकी थिइन्। तथापि, उनले निरन्तर मेहनत, आत्मबल र दृढ निश्चयका साथ आफ्नो लक्ष्यमा पुग्न सफल भएकी हुन्। उनको यो सफलता सामाजिक विभेदको विरुद्धमा एउटा महत्वपूर्ण कदम मानिएको छ।

समुदायका अगुवाहरू, सामाजिक कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले पुजाको यस सफलतालाई ऐतिहासिक मान्दै शुभकामना तथा बधाई प्रकट गरेका छन्। धेरैले उनको यो उपलब्धि नेपाली न्याय प्रणालीमा विविधता र समावेशीताको प्रवर्द्धन गर्ने दिशातर्फको सशक्त संकेत भएको बताएका छन्।

पुजा रामले अब वकिलको रूपमा समाजका पछाडि पारिएका वर्गको हक र अधिकारको पक्षमा आवाज उठाउने छन । समाजिक व्यक्तित्बहरुको भनाइ छ। उनले भनिन्, “मैले यो सफलता केवल मेरो लागि होइन, मेरो समुदायका सबै चेलीबेटीका लागि हासिल गरेकी हुँ। अब म कानुनी माध्यमबाट न्याय सुनिश्चित गर्न संघर्ष गर्नेछु।”

यो प्रेरणादायक सफलता नेपालमा समावेशी समाज निर्माणको दिशामा एउटा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।