जनकपुरधाम । धनुषा प्रहरीले लेनदेन मुद्दामा एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला अदालत धनुषाबाट लेनदेन मुद्दामा कैद सजाय तोकिएका जनकपुरधाम उपमहानगरपालिका ६ निवासी सुधा देवीलाई प्रहरीले पक्राउ गरेको छ ।

वादी जनकपुरधाम उपमहानगरापलिका ११ पवनदेवी शिवहरेले लेनदेन सम्बन्धी दिएको मुद्दामा जिल्ला अदालत धनुषाले तोकेको कैद सजाय भुक्तानका लागि गरेको आदेशानुसार सुधा देवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुग्मबहादुर कुँवरले जानकारी दिएका छन् ।

उनले भने ‘अदालतको आदेशमा प्रहरीले निज प्रतिवादीलाई शुक्रवार पक्राउ गरेको हो, अदालतमा हाजिर गराउन जाँदा आज शुक्रवार भएको कारण हाजिर गराउन सकिएन । आइतवार अदालतमा हाजिर गराउनेछु ।’

वादी पवनदेवीले २०७५ सालमै दिएको लेनदेन सम्बन्धी मुद्दामा जिल्ला अदालतले २०७८ माघ १० गतेका दिन बिगो वापत दुई वर्ष कैद सजाय तोकेको थियो ।

अदालतले प्रतिवादी सुधा देवीलाई हाजिर गराउन भनी सोही वर्ष फागुन १६ गतेका दिन जिल्ला प्रहरी कार्यालय धनुषालाई आदेशसहित पत्राचार गरेको थियो ।